आईपीएल : बैंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लीयो

फाईल तस्विर !!

काठमाण्डौं,असोज,२०-दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५९ रनको जित निकाल्दै दिल्ली पहिलो स्थानमा उक्लिएको हो ।

सोमबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र बनायो ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले ४३ रन बनाउँदा वासिंग्टन सुन्दरले १७ रन जोडे । आरोन फिन्चले १३ रन बनाउँदा मोइन अली र भिवम दुवेले समान ११ रन बनाए । अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बैंग्लोरलाई सस्तैमा समेट्न कागिसो रबाडाले ४ विकेट लिए । एनरिच नोर्त्जे र अक्षर पटेलले समान २ विकेट लिँदा रवीचन्द्रन आश्विनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभर खेल्दा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

दिल्लीका लागि मार्कुस स्टोइनिसले अर्धशतकीय पारी खेले । उनले २६ बलमा २ छक्का र ६ चाैकाको सहायतामा अजिवित ५३ रन बनाए ।

यस्तै पृथ्वी शले ४२ रन जाडे भने रिषव पन्तले ३७ रन जोडे । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस अय्यर र सिम्रोन हेटमेरले समान ११ रन जोडे ।

बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराजले दुई विकेट लिँदा मोइन अली र उसुरु उदानाले समान एक–एक विकेट लिए ।

यससँगै दिल्ली ५ खेलबाट ८ अंक बनाउँदै शीर्ष स्थानमा उक्लियो । समान खेलबाट ६ अंक बटुलेको बैंग्लोर तेस्रो स्थानमा छ ।