एक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी भेटिए

फाईल तस्विर !!

काठमाडौं,चैत,१०-राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गत आर्थिक वर्ष २०७६÷७७ मा २७ हजार ७ सय ४५ नयाँ क्षयरोगी भेटिएको जनाएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा केन्द्रले मंगलबार गरेको पत्रकार सम्मेलनमा १ लाख ५५ हजार ३ सय ७१ सम्भावित क्षयरोगीहरूको परीक्षणमा झन्डै २८ हजारमा क्षयरोग देखिएको जनाएको हो ।

०७५÷७६ मा भएको प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गर्छन् । केन्द्रले ४१ हजार नयाँ क्षयरोगी अझै पनि उपचारको दायरा बाहिर नै रहेको जनाएको छ ।

क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनले गत आर्थिक वर्षमा औषधि प्रतिरोधी क्षयरोगका ३ सय ८४ जना बिरामीलाई नियमित उपचारको दायरामा ल्याउँदा ८३ प्रतिशतलाई उपचारको दायरामा ल्याउन नसकिएको बताउनुभयो ।

सबै तहमा जनशक्ति व्यवस्थापन, औषधि तथा प्रयोगशाला सामाग्री ढुवानी तथा व्यवस्थापन गर्न चुनौती रहेको निर्देशक डा. भट्टचनले जानकारी दिनुभयो । श्वास प्रश्वासको माध्यमबाट सर्ने क्षयरोग माइकोव्याक्टेरियम ट्युबरकुलोसिस नामको सूक्ष्म किटाणुबाट लाग्ने गर्दछ । सरकारले यस रोगको निःशुल्क उपचार गर्ने गरेको छ ।