असली एमाले आफूहरु भएको माधव नेपालको दावी, ओलीलाई बिमाले सिमालेको संज्ञा

फाईल तस्विर !!

काठमाडौं,चैत,१०-नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको संज्ञा दिनुभएको छ ।

मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले अध्यक्ष ओलीलाई पार्टी छाडेर गए हुने भन्दै भन्नुभयो, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’

केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला भन्दै नेता नेपालले भन्नुभयो, ‘नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

नेता नेपालले प्रधानमन्त्री ओली राजतन्त्र फर्काउने बाटोमा लागेको आरोप लगाउँदै भन्नुभयो, ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन्, अब राजतन्त्र फर्किंदैन । हामी परास्त गरेरै छाड्छौँ ।’

ओलीमाथि एकोहोरो खनिनुभएका नेपालले कम्युनिष्ट आन्दोलन बिसर्जन गरिछाड्ने बाटोमा ओली लागेको भन्दै अहिले जनताको बहुदलीय जनवाद (जबज) हाम्रो हो, एमाले हाम्रो हो भनेर प्रचार गरिरहे पनि ओली र जबजको भेट कहिले भएको थियो ? भन्ने प्रश्न गर्नुभयो ।

कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाइने तर ओलीको दासत्व नस्वीकार्ने भन्दै भन्नुभयो, ‘हामी कसैको दास बन्न तयार छैनौँ । हामीले यति राम्रो काम गरेका छौँ । ओलीबाट पीडित भएका मानिसहरूलाई आशा जगाएका छौँ ।’

ओली प्रवृत्तिविरुद्ध कुनैसम्झौता नगर्ने र पार्टीलाई विभाजन नगरिने भन्दै उहाँले ओलीप्रति प्रश्न गर्नुभयो, ‘पार्टी अध्यक्ष भएको मानिस अभिभावक बन्नुपर्ने होइन ? सबैलाई समेट्नुपर्ने होइन ?’

ओलीको स्पष्टीकरणबाट तर्सिएर मैदान छाड्ने र पार्टी फुटाउने पक्षमा नरहेको भन्दै उहाँले पार्टीलाई विभाजनबाट जान रोकिने बताउनुभयो ।