कुर्सी तोडफोड कांग्रेसको संस्कृति विपरीत छ: प्रवक्ता शर्मा

फाईल तस्विर !!

काठमाडौं,असोज,१९-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा सोमबार भएको कुर्सी तोडफोड कांग्रेसको नीती र संस्कृति विपरीत भएको बताउनु भएको छ। 

समाजिक सञ्जाल ट्विटरमा शर्माले लेख्नु भएको छ, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै नदिइएको लेख्नु भएको छ।

असोज १६ गते प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो। राजधानीका विषयलाई लिएर कांग्रेस तथा अन्य दलले विरोध जारी राखेका छन।

सोमबार १ बजे प्रदेश सभाको बैठक सुरु हुनेवित्तिकै विशेष समय लिएर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशको राजधानी अस्थायी राजधानी रहेको बुटवललाई नै कायम गर्नुपर्ने माग गर्नु भएको थियो ।

कनौडिया बोलेपछि कांग्रेस सांसदले नाराबाजी गर्नु भएको थियो ।जनता समाजवादीका केही सांसद पनि नाराबाजीमा उत्रिए र रोष्ट्रम घेराउ गरेका थिए ।

सांसदहरुले संसदीय मर्यादा पालना गर, पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता रिहाई गर, दुईतिहाईको दम्भ नदेखाउ जस्ता नारा लगाउँदै कुर्सी, टेबल र माइक तोडफोड गरेका थिए।