कांग्रेस र जसपा सांसदले गरे प्रदेशसभामा तोडफोड

फाईल तस्विर !!
भैरहवा,असोज,१९-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपाका केहि सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन ।

प्रदेश-५को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको कुर्सी र माइक तोडफोड गरेका हुन् ।

प्रदेशसभाको सोमबार दोस्रोपटक बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिनुभएको थियो ।

नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई ‘रोष्टम’ जान अवरोध अवरोध गरेका थिए।उनीहरुले सत्तापक्षले सर्वसत्तावाद लाद्न खोजेको भन्दै नाराबाजी गरिरहेका थिए ।

कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टममा पुग्नुभएका मन्त्री केसीले नाराबाजीकैक्रममा नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गर्नुभएको थियो ।

मन्त्री केसीले प्रस्ताव पेस गरे लगत्तै नाराबाजीमा उत्रिएका कांग्रेस सांसदहरुले आफू बस्ने कुर्सीछेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिए ।

कांग्रेस सांसद वसिउद्दिन खाँ, अष्टभुजा पाठक र वैजनाथ कलवारले कुर्सी उचालेर प्रहार गरेका थिए ।

कांग्रेस सांसदहरुको विरोधकाबीच सभामुख घर्तीमगरले प्रस्ताव उपरको छलफललाई अघि बढाउनुभएको थियो ।

सोमबारको बैठकमा बोल्ने सांसदहरुले प्रदेशको नामाकरण र राजधानीका विषयमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।

प्रदेशसभाको बैठक मंगलबार (भोलि)सम्मका लागि स्थगित भएको छ ।प्रस्तावमाथि छलफल सुरु भएर केही सांसदले भाग लिएपछि सभामुख घर्तीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।