एजेन्सी,बैशाख,३०-स्पेनका शीर्ष लिगका बाँकी खेलहरु आउँदो जुन १२ देखि सुरु हुन सक्ने बताइएको छ ।ला लिगाका अध्यक्ष खाबियर तेबासले कोरोना संक्रमणका कारण रोकिएका लिगका बाँकी खेलहरु जुन १२ देखि सुरु गर्ने तयारी भइरहेको बताएका हुन् ।

खेलाडीहरुको स्वास्थ्य परीक्षण गरिने र उनीहरु स्वस्थ रहने भन्दै खेल सुरु हुने अपेक्षा रहेको उनले बताएका हुन् ।स्पेनका शीर्ष दुई लिगका पाँच खेलाडीका कोरोना भाइरसको संक्रमण देखिएको ला लिगाले आइतबार बताएको थियो ।
ला लिगाले गएको हप्ता खेलाडी तथा खेल पदाधिकारीको परीक्षण सुरु गरेको थियो । बन्द रंगशालामै भए पनि लिगका बाँकी खेल सम्पन्न गर्ने उद्देश्यसहित ला लिगाले परीक्षण थालेको हो ।
मोविस्टारसँग तेबासले जुन १२ मा लिग पुनः सुरु गर्ने मिति आफूलाई उपयुक्त लागेको भए पनि त्यसलाई विभिन्न पक्षले प्रभावित पार्न सक्ने बताए ।संक्रमण बढेमा त्यो मिति उचित हुन नसक्ने उनले उल्लेख गरेका छन् ।
खेलअघि हरेक खेलाडीको परीक्षण गरिने भएकाले खेलको क्रममा संक्रमण फैलिने जोखिम शून्य हुने पनि उनले उल्लेख गरेका छन् ।बार्सिलोनासहितका क्लबका खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेका छन् ।संक्रमण पुष्टि भएका पाँच खेलाडीको नाम सार्वजनिक गरिएको छैन र उनीहरुलाई आइसोलेशनमा राखिएको जनाइएको छ ।