एकैदिन २४४० जनामा कोरोना संक्रमण,१९ जनाको मृत्यु

काठमाडौं,असोज,१९-नेपालमा सोमवार थप २ हजार ४४०जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ५५४ जनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ जना रहेका छन् ।हाल भेन्टिलेटरमा ४३ जना संक्रमितको उपचार भइरहेको छ भने आईसीयूमा २४४ जनाको उपचार भइरहेको छ । क्वारेन्टाइनमा ४ हजार ३३ जना रहेका  छन् ।

प्रवक्ता गौमले हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको बताउनुभयो।उहाॅंका अनुसार सोमवार थप १ हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी कुल पीसीआर परीक्षण संख्या १० लाख ८८ हजार २२९ पुगेको छ ।

यस्तै विगत २४ घण्टामा १३ हजार ७८१ ओटा पीसीआर परीक्षण गरिएको छ । त्यस्तै होम आईसोलेशनमा १२ हजार ३१६ जना संक्रमित छन् भने संस्थागत आईसोलेशनमा ११ हजार १९१ जना संक्रमित रहेका छन् ।

सोमवार कोरोना संक्रमण पुष्टि भएकामध्ये १ हजार ५३१ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये काठमाडौं जिल्ला १ हजार १७८ जना, ललितपुर जिल्लाका २५० जना र भक्तपुर जिल्लाका १०३ जना रहेका छन् ।