खोटाङमा गाउँपालिकाले विदेश जानेको तथ्याङ्क सङ्कलन गर्ने

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक २९-

खोटाङमा गाउँपालिकाले विदेश जानेको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । वैदेशिक रोजगारी बारे प्रभावकारी जानकारी गाउँ गाउँमा र्पुयाउन नियुक्त गरिएका स्वयमसेवकलाई खटाएर तथ्याङ्क सङ्कलन गरिने भएको हो ।

लामिडाँडा गाउपालिकाको कुभिण्डे, खार्पा, लामिडाडा, दुवेकोल, डुम्रेधारापानी र हौंचुरमा विदेशबाट फर्किएका ६ जना युवालाई स्वयमसेवकका रुपमा परिचालन गरिएको छ । उनीहरुले आ–आफ्नो वडाबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गर्नेछन् ।

उनीहरुले आफ्ना वडाहरुमा सुरक्षित वैदेशिक रोजगारी बारेका जानकारी पनि दिनेछन् । त्यसका लागि उनीहरुलाई दुई दिने अभिमुखिकरण पनि गरिएको छ । अभिमुखिकरणमा वैदेशिक रोजगारीको अहिलेको अवस्था, सुचना केन्द्र बारे जानकारी, कानुनी कुरा, सीप तालिमको महत्व, विदेश जाँदा सुरक्षित राख्नुपर्ने कागजपत्र बारे जानकारी गराइएको थियो ।

उनीहरुलाई वैदेशिक रोजगार प्रर्बद्धन बोर्डले दिने सेवा, महिला कामदारको अवस्थाका बारेमा सुरक्षित आप्रवासन परियोजना (सामी) का जिल्ला कार्यक्रम संयोजक भक्तकुमार राई, बालसेवा समाजका सामी परियोजनाका कार्यक्रम सयोजक ओजोनबाबु आर्चाय, नवकिरण सेवा समाजले सञ्चालन गरेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी परामर्शकर्ता खिलासरी दाहाल र सामाजिक परिचालक सन्तोष राइले सहजिकरण गर्नुभएको थियो ।