प्रधानमन्त्री र म दुवैले गोली नचलोस् भन्ने चाहेका हौं : गृहमन्त्री निधि

काठमाडौं, फागुन २५-
प्रधानमन्त्रीले कुनै हालतमा गोली नचलाउनू भनेर निर्देशन दिए पनि गोली चलेको कुरा आएको छ। वास्तविकता के हो ।
प्रधानमन्त्रीले मात्रै होइन, मैले पनि कुनै हालतमा गोली नचलोस् भन्ने नै चाहेको हुँ। मधेसी मोर्चा र एमाले नेताहरूसँग प्रधानमन्त्री र मैले पटकपटक कुराकानी गर्दै आएको थिएँ। त्यहीबीच एमालेको कार्यक्रमलाई ध्यानमा राखेर सुरक्षा निकाय प्रमुखहरूसँग पनि छलफल गरेको थिएँ। दुवै पक्षका नेतालाई शान्ति र संयमका साथ कार्यक्रम सञ्चालन गर्न हामीले आग्रह गरेका थियौं।

एकअर्काप्रति आक्रमण र अवरोध नगर्न अनुरोध गर्दै आएका थियौं। दुवै पक्षलाई आपसमा भेट हुन नदिन सुरक्षा निकायलाई ‘ब्यारियर’ का रूपमा राख्ने हाम्रो नीति थियो। बल प्रयोग गर्नुपर्ने अवस्था आए पानीको फोहोरा, लाठीचार्ज, अश्रुग्यास र रबरको गोली मात्र प्रयोग गर्नू भनेर पहिलेदेखि भन्दै आएका थियौं।

तैपनि गोली चल्यो त ।
गोली चलाउनेबारे स्थानीय प्रशासन ऐनमै उल्लेख छ। परिस्थिति काबुबाहिर जाने अवस्थामा घुँडामुनी गोली चलाउन आदेश दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै हुन्छ। त्यसका लागि कसैको आदेश लिनु पर्दैन। हिजो गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले कार्यक्रम गरिरहँदा ठूलो संख्यामा भिड आयो। प्रहरीको भनाइअनुसार भिडले सशस्त्र र जनपद प्रहरीको दुईवटा सञ्चार सेट नै खोस्यो। हतियार खोस्ने क्रममा सशस्त्रका इन्स्पेक्टर विजय श्रेष्ठलाई कुटपिट गरेको जानकारी छ।

प्रदर्शनकारीहरूलाई औद्योगिक क्षेत्रको कम्पाउन्डभित्र पस्नबाट रोक्न सुरक्षा निकाय झन्डै असफल हुने अवस्था आयो।प्रहरीले पानीको फोहोरा, लाठी, अश्रुग्यास र रबरको गोली चलाउँदा पनि स्थिति नियन्त्रणमा नआउने देखियो। यसले प्रहरीसमेत असुरक्षित हुने अवस्था आयो। भिडले सुरक्षाकर्मीलाई धकेल्दै एमाले नेताहरू उपस्थित कार्यक्रमस्थलसम्मै पुग्ने अवस्था बन्यो। उनीहरू त्यहाँ पुगेका भए र दुई पक्षबीच झडप भएर औद्योगिक क्षेत्रभित्र तैनाथ सुरक्षाकर्मीले गोली चलाउने अवस्था आएको भए अझ धेरै ठूलो संख्यामा हताहत हुन सक्थ्यो।
 
पानीको फोहोरा र रबरको गोली अत्यन्त कम मात्र प्रयोग भयो भन्ने गुनासो छ। तपाईंले सुरक्षा निकाय प्रमुखहरूबाट के सूचना पाउनुभयो ।
प्रहरीले ९ राउन्ड रबरको गोली चलाएको मलाई ब्रिफिङ आएको छ। रबरको गोली चलाउँदा हामी सामान्य मानिसले बुझेजस्तो सोझै चलाइँदैन। प्राविधिकरूपमा त्यसलाई जमिनमा हान्ने र त्यहाँबाट उछिट्टिएर जाने हो। पानीको फोहोरा हान्न लगिएको गाडीबाट केही मात्रामा पानी प्रयोग गरिएको थियो। तर, त्यो गाडीलाई नै आक्रमण गरेर क्षतिग्रस्त बनाइएको रिपोर्ट छ। त्यसपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास पनि प्रयोग गरेको छ। घटनाको सत्यतथ्य विस्तृत छानबिन रिपोर्ट आएपछि थाहा हुनेछ।

सुरक्षा निकायले दिएको जानकारीअनुसार अश्रुग्यास, लाठी, रबरको गोली सबै चलाउदा र धेरै संयम अपनाउँदा पनि भिडले सुरक्षाकर्मीलाई धकेल्दै कार्यक्रमस्थलमै प्रवेश गर्ने अवस्था आएको र स्थिति काबुबाहिर जानसक्ने भएपछि गोली चलाउनुपरेको सुरक्षा निकायले रिपोर्ट गरेको छ। स्थानीय प्रशासन ऐनबमोजिम परिस्थिति हेरेर घुँडामुनि गोली चलाउन आदेश दिनसक्ने अधिकार स्थानीय प्रशासनलाई नै हुन्छ।

पहिले मधेस आन्दोलनमा पनि प्रहरीले ज्यादती गर्यो, टाउकोमै गोली हान्यो भन्ने बारम्बार प्रश्न उठ्दै आएको थियो। यसपालि पनि त्यही दोहोरियो। कसैलाई पनि घुँडामुनि गोली लागेको छैन। यसको मतलब, कि त प्रहरी घुँडामुनि गोली हान्न अक्षम छ, कि यो नियतवश भएको हो ।
तपाईंले यति लामो प्रश्नै गर्नु पर्दैन। तपाईंले गरेकै प्रश्न आज सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा मैले नै गरेको छु। यसको जवाफ चाहियो भनेको छु। काबुबाहिरको अवस्थामा घुँडामुनि गोली चलाउने अधिकार स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई छ। सुरक्षाकर्मीलाई तालिम नपुगेको हो कि के हो भनेर मैले प्रश्न गरेको छु।

भिड र जुलुसले त तालिम लिएर आउँदैन। तर, विगतको आन्दोलनमा पनि टाउको र पेटमा मात्रै गोली लागेको देखिन्छ। हिजो पनि त्यही भयो, घुँडामुनि गोली चलेको देखिएन। सुरक्षाकर्मीले अन्तिम विकल्पका रुपमा घुँडामुनि गोली चलाउन पर्नेमा माथि कसरी लाग्योरु मैले यसको जवाफ मागेको छु।

फिल्डमा कमान्डरले नै अन्तिममा निर्णय लिने हो। यसपालि जनपद प्रहरी धेरै संयमित भएको र सशस्त्रले गोली चलाएको भन्ने सूचना आएको छ। यस्तो कसरी र किन भयो ।
यी सबैको जवाफ अनुसन्धानपछि आउँछ। अहिले नै कसले गोली चलायो, कसले चलाएन भन्न सक्ने अवस्था छैन।

विगतमा पनि यस्ता घटना हुँदा अनुसन्धान त गर्ने तर त्यसको प्रतिवेदन बाहिर ल्याउने काम भएन। सुरक्षा संगठनलाई सुधार गर्ने प्रयास पनि भएन। यसपटक के गर्नु हुन्छ ।
म यसपटक सप्तरी घटनाको विस्तृत अनुसन्धान गरी त्यसको सत्यतथ्य बाहिर ल्याउँछु।

आज पनि सप्तरीमा प्रदर्शन र झडप जारी छ। मधेसका अरू भागमा पनि प्रदर्शन र झडप भएको खबर छ। यो परिस्थिति कसरी सम्हाल्नुहुन्छ ।
राजनीतिक समाधानको निम्ति मैले सप्तरी घटनालगत्तै धेरै पार्टीका नेताहरूसँग सम्पर्क गर्ने कोशिस गरेँ। सबैसँग सम्पर्क हुन सकेन। जनकपुरमा रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष केपी ओलीजीसँग फोन सम्पर्क गरेँ। ओलीजीसँगको कुराकानीमा अहिलेको अवस्थामा अभियान चलाउनु त्यति उपयुक्त नहोला कि भनेर कार्यक्रम स्थगित गर्न अनुरोध गरेँ।

जवाफमा उहाँले सरसल्लाह गरी खबर गर्छु भन्नुभयो। मलाई लागेको थियो, उहाँहरूले यो कार्यक्रम पूरै स्थगित गर्नु होला। तर, उहाँहरूले तीन दिनलाई मात्र स्थगित गर्नुभयो। मेरो विचारमा उहाँहरूले आफ्नो निर्णय पुनर्विचार गरी कार्यक्रम पूरै स्थगित गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ। मधेसका जनताले पनि संयम राख्नुपर्छ।

एकले अर्कोलाई शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न नदिनु वा कसैले कार्यक्रम गरिरहेका ठाउँमा जाइलाग्नु लोकतन्त्रमा मान्य हुन सक्दैन। लोकतन्त्रमा शान्तिपूर्ण विरोध र आन्दोलनको अधिकार प्रयोग गर्नुपर्छ। त्यसमा दुवै पक्ष संयमित हुनुपर्छ र सरकार पनि संयमित हुनुपर्छ। राजनीतिक समाधानका लागि राजनीतिक तहमा हामी छलफल गर्छौं। यो विषय संविधान संशोधनसँग सम्बन्धित छ। मधेसी मोर्चाले पनि संविधान संशोधन चाहेको छ, सरकारले पनि त्यही चाहेको छ।

त्यसका लागि प्रस्ताव दर्ता भइसकेको छ। तर, संशोधन कुनै हालतमा मान्दैनौं भन्ने एमालेको अडान छ। हामीले यो राष्ट्रहितमा छ र संविधान कार्यान्वयनका लागि पनि आवश्यक छ भनिरहेका छौं। मधेसी मोर्चाले उहाँहरूका धेरै माग सम्बोधन नभए पनि कम्तिमा यो संशोधन नगरी निर्वाचनको कुरा नगर्न आग्रह गर्दै आएको छ। राजनीतिक विषय यिनै हुन्। यी विषयमा हामी छलफल गरिरहेका छौं। राजनीतिक समाधान खोज्नै पर्छ।

मधेसी पार्टीहरूले अहिले संसदमा दर्ता भएको संशोधन प्रस्ताव पारित भयो भने निर्वाचनमा जान तयार छौं भनिरहेका छन् कि यसमा थप परिमार्जन गरेर जानुपर्छ भन्ने उनीहरूको अडान छरु किनभने बाहिर त यसले पुग्दैन, सातैवटा प्रदेशको सीमांकन परिमार्जन गरी अरू विषयमा पनि संशोधन हुनुपर्छ भनिरहेका छन्।
मधेसी मोर्चाका नेताहरूको भनाइअनुसार उहाँहरूले चाहेजति विषय समेटिएको छैन, केही परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्दै आउनुभएको छ। त्यसमा हामी पनि केही विषयमा परिमार्जन गर्न तयार भएका छौं। अहिले दर्ता भएको संशोधन प्रस्तावलाई सामान्य परिमार्जन गरी पारित गर्ने पक्षमा हामी र उहाँहरू पनि थियौं। एमालेले भने कुनै हालतमा गर्न दिन्न भन्ने अडानका कारण यो ‘डेडलक’ सिर्जना भएको हो।

मधेसमा हिंसा भड्किएको पृष्ठभूमिमा अब संविधान संशोधन गर्दैमा मधेसमा चुनाव गर्न सम्भव छ ।
हामी स्थितिको अध्ययन र अवलोकन गरिरहेका छौं।

(साभार सेततोपाटीमा बिष्णु बुढाथोकीले  गृहमन्त्रीसंग लिएको अन्र्तवार्ता )