उम्मेदवार छान्न माओवादीले बनायो कार्यविधि : के छ प्रचण्डको प्रस्तावमा

काठमाडौं,फागुन २५-
माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट कार्यविधि तय गरेको छ । गाउँपालिकाका वडा सदस्यदेखि महानगरपालिकाका प्रमुख–उपप्रमुखसम्मका उम्मेदवार छान्न माओवादी केन्द्रले कार्यविधि बनाएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा सोसम्बन्धी कार्यविधि उल्लेख छ । ‘अध्यक्षले पेस गर्नुभएको निर्वाचन परिचालन समिति गठनदेखि उम्मेदवार छनोट गर्ने कार्यविधि पार्टीले बनाएको छ,’ माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गिरिराजमणि पोखरेलले नया“ पत्रिकासँग भने, ‘अब त्यही प्रस्तावका आधारमा त्यसलाई अझै परिष्कृत गरेर निर्वाचन परिचालन समितिले काम गर्नेछ ।’ सरकारले ३१ वैशाखमा स्थानीय चुनावको मिति तय गरेको छ । निर्वाचनमा पार्टीलाई सम्पूर्ण रूपमा परिचालन गर्ने र उम्मेदवार छनोटका लागि अहिलेदेखि नै पार्टी कमिटी परिचालन गर्न सोअनुसारको तयारी थालेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

बन्यो निर्वाचन परिचालन समिति
निर्वाचन परिचालनका लागि माओवादी केन्द्रले नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय आन्तरिक कमिटी गठन गरेको छ । त्यस्तो समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, लीलामणि पोखरेल, मणि थापा, शक्ति बस्नेत, विश्वभक्त दुलाललगायत नेताहरू छन् । समितिले जिल्ला निर्वाचन परिचालन, उम्मेदवार छनोट मापदण्डसहितको कार्यविधिलगायत काम गर्नेछ । ‘हामी अब समितिको छिटै बैठक बसेर थप कार्यविधि बनाउनेछौँ,’ नेता पोखरेलले भने ।

के छ प्रचण्डको प्रस्तावमा ।
प्रचण्डले सोमबारको पार्टी हेडक्वार्टर बैठकमा पेस गरेको प्रस्तावमा निर्वाचन परिचालन समितिले गर्ने कार्यविधिमा वडादेखि गाउँ, नगर र महानगरसम्मका उम्मेदवार छनोट के कसरी गर्ने भन्नेसम्मका प्रारम्भिक खाका समेटिएका छन् । निर्वाचन परिचालन समितिलाई प्रारम्भिक खाकामा थप परिष्कृत गरी कार्यविधि तय गर्न बैठकले निर्देशनसमेत दिएको छ ।

तीनजनाको नाम सिफारिस गर्न निर्देशन
स्थानीय तहका जुनकुनै पदका उम्मेदवार छनोट गर्न सम्बन्धित सिफारिस गर्ने कमिटीले तीनजनासम्मको नाम आफूभन्दा माथिल्लो कमिटीमा पठाउनुपर्ने हुन्छ । त्यसरी सिफारिस भई आएका नामलाई सिफारिस गर्ने कमिटीभन्दा माथिल्लो कमिटीले अनुमोदन गरी आफूभन्दा माथिल्लो कमिटीको स्वीकृति अनिवार्य लिनुपर्ने विधि बनाएको छ ।

कसरी छानिन्छन् उम्मेदवार ।

वडा सदस्यका लागि जिल्लाले स्वीकृति दिनुपर्ने
स्थानीय तहको चुनावमा गाउँपालिकाको वडा सदस्यका लागि टिकट लिन पार्टी जिल्ला संगठन समितिको स्वीकृति अनिवार्य लिनुपर्ने प्रारम्भिक विधि माओवादी केन्द्रले बनाएको छ । वडा कमिटीको सिफारिसमा गाउँ कमिटीले अनुमोदन गरेर जिल्लामा पठाउनुपर्ने र जिल्लाले स्वीकृति दिनुपर्ने उल्लेख छ ।

गाउँ­–नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य
गाउँ र नगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्ने विधि माओवादीले तय गरेको छ । गाउँपालिकाका लागि सम्बन्धित गाउँ कमिटी र नगरका लागि नगर कमिटीको सिफारिसमा जिल्ला संगठन समितिले अनुमोदन गरी प्रदेशमा नाम पठाउनुपर्ने विधि उसले बनाएको छ । त्यसरी सिफारिस भई आएका नाममध्येबाट प्रदेश कमिटीले स्वीकृति दिएकाले मात्र पार्टीका तर्फबाट उम्मेदवार बन्न पाउने कार्यविधि बनाएको छ ।

उपमहानगरपालिकाका लागि पनि प्रदेशकै स्वीकृति चाहिने
उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखका लागि पनि प्रदेश कमिटीको स्वीकृति चाहिने गरी मापदण्ड माओवादीले बनाएको छ । सम्बन्धित कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारलाई जिल्लाले अनुमोदन गर्ने र प्रदेश कमिटीले मात्र उम्मेदवार बनाउने विधि उसले बनाएको छ ।

महानगरका प्रमुख पार्टी केन्द्रले तोक्ने
स्थानीय तहअन्तर्गतका महानगरपालिकाका प्रमुख–उपप्रमुख पदका उम्मेदवार पार्टी केन्द्रले नै तोक्नेछ । जिल्लाको सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गर्ने र केन्द्रले स्वीकृति दिने गरी विधि बनाएको माओवादीका एक नेताले बताउनुभयो ।साभार रातोपाटीबाट