आज राति चन्द्रग्रहण लाग्ने

दिउँसो २ बजेपछि भोजन निषेध !

काठमाडौं,साउन,२३-

आज श्रावण शुक्ल पूर्णिमामा राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य, पृथ्वी र चन्द्रमा समान रेखामा परेर चन्द्रमामा पृथ्वीको छायाँ पर्न जाने खगोलीय प्रक्रिया नै चन्द्रग्रहण हो ।

आज राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । १ बजेर ४ मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । १ घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ ।

मकर राशीका व्यक्तिले यो चन्द्रग्रहण अवलोकन गर्नु घातक हुन्छ । मकर, कन्या र वृष राशीकालाई पनि यो अशुभ छ । मेष, धनु र सिंह राशीकाले ग्रहण अवलोकन गर्दा शत्रुनाश हुन्छ । मिथुन, कुम्भ र तुला राशीलाई कार्यनाशको योग छ । मीन, कर्कट र वृश्चिक राशीकालाई यो ग्रहण शुभ छ ।

शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ ।