भोलि बस्ने संसद् बैठक सूचना टाँसेर स्थगित :अर्को बैठक फागुन २७ दिउँसो १ बजे बास्ने

काठमाण्डौं,फागुन १८-व्यवस्थापिका(संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले बिहीबारको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ ।

संसद्मा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो । संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् ।

यद्यपि संविधान संशोधन प्रस्तावमाथि संशोधनका लागि दिएको समयसीमाभित्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतले १५ वटा संशोधन दर्ता गराएका छन् । सभामुख ओनसरी घर्ती उहाँका पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा हुनुहुन्छ । दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उहाँ तुरुन्त स्वदेश फर्कन सक्नुहुने उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।