माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं,मंसिर,२-

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजना सोमबार उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित वार रुमबाट रिमोट बटन थिचेर उद्घाटन गर्नु भएको हो ।

आयोजना अकिारीहरुका अनुसार सो आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो। सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र चिनिया“ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक १४ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । निर्माण अवधिको २ अर्ब ८९ करोड व्याजसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ।

चिनिया एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भएको हो।

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्ले स्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।

आयोजनाले स्विचयार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्रि बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ।

प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लूई)सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।