कारले ठक्कर दिँदा नेपालगञ्जमा तीनजना पैदलयात्रीको मृत्यु

काठमाण्डौं,चैत्र,२८-बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ।नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको हो। 

प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो।

सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो।