स्थानीय चुनावका लागि सबै स्थानीय तहमा काम सुरु

काठमाडौं, फागुन ३० –

आउँदो वैशाख ३१ गते हुने चुनावको लागि सात सय ४४ वटै स्थानीय तहबाट काम सुरु भएको छ । सरकारले ७ सय ४४ वटा स्थानीय तहको संख्या र सिमानासहितको प्रतिवेदन बुझाएसँगै काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले कार्यालय स्थापना गरेर चुनावको लागि आवश्यक तयारी सुरु भएको छ ।

सरकारले अहिले अस्थायी रुपमा कर्मचारी खटाएको र आफूहरुले स्थायी रुपमै कर्मचारी पठाउन भनेको उहाँले बताउनुभयो ।सरकारले पनि आयोगको माग अनुसार चैत ३ गतेभित्र आवश्यक कर्मचारी खटाउने तयारी गरेको छ । कर्मचारी व्यवस्थापनसँगै आयोगले मतपत्र छपाई, मतदाता नामावली संकलन तथा प्रकाशन, मतदान केन्द्र निर्धारणको गृहकार्य पनि सुरु गरेको छ । आयोगले चैत १० गतेसम्ममा मतदान केन्द्र निर्धारण गर्ने तयारी गरेको छ ।

यस्तै २० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छन् । स्थानीय चुनावमा एक करोड ४० लाख मतदाता सहभागी हुने आयोगको अनुमान छ ।कार्यतालिका अनुसार वैशाख ३ गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, वैशाख ७ गतेसम्म मतपत्र छपाई गर्ने तथा वैशाख १० गते जिल्ला सदरमुकाममा मतदाता नामावली पुर्याउने आयोगको योजना छ । छोटो अवधि भएकाले रातदिन काम गरेर तयारी तीव्र पारिएको आयोगका प्रवक्ता शर्माले बताउनुभयो । उज्योलो अनलाईनबाट