काठमाडौं,असार,१०-दोस्रो पुस्ताका नेताहरुले पार्टी नेतृत्वको दाबी गर्न थालेपछि नेपाली कांग्रेसको सभापति बन्ने योजनामा रहेका शीर्ष नेताहरुका लागि चुनौती थपिने भएको छ।
भदौको दोस्रो हप्ताबाट नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदैछ।पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, सुजाता कोइराला, कल्याण गुरुङ लगायतले सभापति पदमा प्रतिस्पर्धा गर्ने दाबी गरेका छन्।
सभापति दाबी गर्ने यी कांग्रेसका दोस्रो तथा तेस्रो पुस्ताका नेता हुन्।विमलेन्द्र, शशांक, प्रकाशमान र सुजाता कांग्रेसका शीर्ष नेताहरुका सन्तान पनि हुन्।
सभापतिमा दोहोरिने योजनामा रहेका शेरबहादुर देउवा, एक पटक सभापति बन्ने धोको पालेका रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई युवाहरुको उम्मेदवारी घोषणाले चुनौती थपिएको नेताहरुको बुझाइ छ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले दोस्रो तथा तेस्रो तहका नेताले १४औं महाधिवेशनबाट दोस्रो तहकै नेतालाई सभापति बनाउन निर्णायक भूमिका खेल्ने बताउनुभयो ।
‘हाम्रो पार्टीको दोस्रो पुस्ता पार्टीलाई विश्वको बदलिँदो परिस्थितिअनुसार अघि बढाउन लागेको छ,’ भण्डारीले भन्नुभयो, ‘यो कसैलाई दबाब वा धम्की दिनका लागि होइन, स्मार्ट फोनसँगै हुर्किएको स्मार्ट पुस्ता अनुसारको नेतृत्वका लागि हो।’
पार्टीको शीर्ष तहमा रहेका वर्तमान सभापति देउवा, पौडेल र सिटौला पनि सभापतिको दौडमा छन्।कांग्रेसको १३औँ महाधिवेशनमा ८५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो। अहिले आमन्त्रितसहित १ सय २५ केन्द्रीय सदस्य छन्।
पछि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट विजय गच्छदार र राप्रपाबाट सुनिलबाबु थापा नेतृत्वका समूहलाई पार्टीमा एकीकृत गर्दा केन्द्रीय समितिको संख्या ह्वात्तै बढेको हो।
कांग्रेसका नेता मिनेन्द्र रिजालका अनुसार पार्टीको नयाँ विधानमा १ सय ६७ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ।पार्टीभित्र केही युवा नेताहरुले देउवासहित सभापतिमा दाबी गरेका सबै नेताहरुसँग एक चरण छलफल गरिसकेका छन्।देउवालाई उनीहरुले अहिलेको चुनौतीको सामना गर्न उमेरले पनि साथ नदिने भन्दै विश्राम लिन सुझाव दिएको भण्डारीले बताउनुभयो।
‘हामी केही युवा नेताहरुले केही दिनपहिले सभापति शेरबहादुर दाइलाई उहाँकै निवासमा गएर भेटेका थियौं,’ भण्डारीले थपे, ‘अहिलेको चुनौतीको सामना गर्न तपाईंलाई उमेरले साथ दिँदैन, त्यसैले नयाँ पुस्तालाई छोडिदिनुस् भनेका छौं।’
आगामी महाधिवेशनमा दोस्रो पुस्ताबाट सभापति बनाउन युवाहरुले सक्रियता देखाइरहेको उहाँले दाबी गर्नुभयो।‘दोस्रो तहबाट सभापति बन्ने गरी हामी युवाहरु एकै ठाउँमा उभिएका छौँ, हामीले अब एउटा निष्कर्ष दिन सक्ने उहाँले बताउनुभयो।
निधिको शक्ति
असार ७ गते ९ जना युवा नेताले उपसभापति विमलेन्द्र निधिलाई भेटेका थिए।चन्द्र भण्डारी, गगन थापा, धनबहादुर गुरुङ लगायतका नेताले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा निधिलाई भेटेर महाधिवेशनमा दोस्रो तहका नेतालाई जिताउनु पर्नेमा जोड दिएका थिए।
शेरबहादुर देउवाको नेतृत्वमा आगामी आमचुनाव पनि नजितिने र पार्टी बलियो पनि नहुने भएकोले दोस्रो तहका नेताहरु अघि बढ्नुपर्ने सुझाव दिएको एक नेताले बताउनुभयो ।
कांग्रेसमा गगन थापा, प्रदीप पौडेल लगायतका नेताहरुको जिल्ला तहसम्म राम्रो पहुँच भएकोले निधि पनि उनीहरुसँग पावर सेयरिङको समझदारी गरेर सभापतिको उम्मेदवार बन्ने निष्कर्षमा पुगेको उनीनिकट नेताहरु बताउँछन्।दोस्रो तहका नेताहरुबीच सहमति जुटाएर अघि बढ्ने निधिको जोड छ।
उहाँले असार ७ गते महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंहसँग बानेश्वरस्थित आफ्नै निवासमा लञ्च मिटिङ गर्नुभयो।दुई घण्टासम्म भएको छलफल पार्टीको महाधिवेशनकै सेरोफेरोमा केन्द्रित भएर छलफल भएको बताइएको छ।
अहिलेसम्म निधिको पक्षमा प्रदीप गिरि, आनन्द ढुङ्गाना, गोविन्द भट्टराई, फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, चिनकाजी श्रेष्ठ र चित्रलेखा यादव लगायतका नेताहरु खुलेको बताइएको छ।
लामो समय देउवासँगै रहेकाले निधिले यी नेता आफ्नो पक्षमा उभिने विश्वास लिएको उनीनिकट नेताहरु बताउँछन्।
‘अहिले नै खुलेर लाग्दा शेरबहादुर दाइबाट अप्ठेरो पर्ला भनेर पनि धेरै नेताहरुले मुख खोलिसकेका छैनन्,’ एक नेताका अनुसार ‘महाधिवेशनको प्रक्रिया सुरु भएलगत्तै धेरैले विमलेन्द्र दाइलाई साथ दिने पक्का छ।’धेरै युवा नेताले निधिलाई सहयोग गर्ने भनी अहिलेदेखि नै भित्री रुपमा आश्वासन दिएको ती नेताको दाबी छ।
रामचन्द्र पौडेलको शक्ति
१३औं महाधिवेशनमा सभापति देउवासँग पराजित भएका पौडेल १४औं महाधिवेशनमा पनि सभापतिका प्रमुख दाबेदार हुनुहुन्छ।अघिल्लो पटक नै देउवासँग लडेका उहाँ यस पटक आफ्नो पक्षमा थप बलियो माहोल बनाएर सभापति उठ्ने योजनामा देखिनु भएको छ।
तर, केही दिनदेखि सभापतिमा धेरैले दाबी गर्न थालेपछि उहाँको चुनौती थपिएको देखिन्छ।‘नेताहरु विभाजित हुँदा यसको सीधा घाटा रामचन्द्र दाइलाई पर्छ,’ एक नेताले भन्नुभयो, ‘सभापति दाबी गर्ने सबै युवा हुँदा उहाँको निर्णायक मत विभाजित हुन्छ र त्यसले नतिजा उल्टाउन भूमिका खेल्छ।’
सभापति बन्न पौडेलले कोइराला परिवारका नेताहरुलाई एकजुट बनाएर उनीहरुको साथ लिनैपर्ने नेताहरुको भनाइ छ।‘त्यसो गर्न सकेको अवस्थामा रामचन्द्र दाइलाई सभापति बन्ने बलियो आधार बन्छ,’ पौडेलनिकट एक नेताले भन्नुभयो, ‘तर, शेखर र शशांकले पनि दाबी गरेकाले उहाँलाई कठिनाइ हुनसक्छ।’
अहिलेका प्रमुख नेताहरुमध्ये पार्टी संगठनमा कुनै पनि नेताको एक्लै वर्चश्व छैन। तर, सबैको एक्लाएक्लै पकडका आधारमा हेर्दा चाहिँ देउवा नै तुलनात्मक रुपमा सबैभन्दा बलिया छन्। धेरै उम्मेदवार भएमा त्यसको फाइदा देउवालाई पुग्नसक्छ।
देउवानिकट नेता रमेश रिजालले महाधिवेशनको पहिलो चरणमा सभापति चुनिने सम्भावना कम रहेको बताउनुभयो।‘नेतृत्व चयनका लागि दोस्रो चरणको मतदानमा जान्छ,’ रिजालले भन्नुभयो, ‘त्यसबेला रामचन्द्रजी लगायतसँग समीकरण बनाएर जाने अवस्था बन्न सक्छ।’
रामचन्द्र पौडेलले आफ्नो छुट्टै समूहको नेतृत्व गरेर आएका छन्। उहाँले शुक्रबार आफूनिकट नेताहरुसँग महाधिवेशनकै सेरोफेरोमा रहेर छलफल गर्दैछन्। यसअघि पनि उहाँले विभिन्न नेताहरुसँग छलफल गरिसक्नु भएको थियो।
निधि पनि सभापतिका लागि प्रतिष्पर्धाबाट पछि हट्ने सम्भावना कम रहेको उहाँनिकट नेताहरु बताउँछन्। देउवानिकट नै रहेका निधिले सभापतिमा दाबी गरे देउवाको केही मत काटिन्छ।
लामो समय देउवाको विश्वासपात्र भएर काम गरेका निधिले अहिलेसम्म छुट्टै समूह बनाएर त्यसको अभ्यास भने गरेका छैनन्।
‘अहिले समूह भनेकै शेरबहादुर देउवा नै हो। उहाँसँग लामो समय काम गरेर निधि आउनुभएको हो,’ निधिका प्रेस संयोजक रामजी दाहालले भन्नुभयो, ‘अघिल्लो महाधिवेशनमै देउवाले आउने महाधिवेशनमा सहयोग गर्छु भन्नुभएको थियो। त्यही कारण यो महाधिवेशनमा निधिले सभापतिमा उम्मेदवारी दिनुहुन्छ।’
महामन्त्री शशांक कोइराला र कोइराला परिवारका अर्का प्रभावशाली नेता शेखर कोइरालाले सभापतिमा गम्भीर तयारीका साथ दाबी प्रस्तुत गर्न लागेको बताइएको छ। त्यसो त नयाँ पुस्ताका गगन थापा र कल्याण गुरुङले पनि सभापतिमा दाबी गरेका छन्।
गगनले ७० पुगेका नेताहरुले विश्राम लिनुपर्ने, पार्टीमा बयोवृद्ध नेताहरुको पकड रहने संरचनाको अन्त्य हुनुपर्ने प्रस्ताव राखेका छन्।प्रतिस्पर्धाको मुडमा रहेका नेताहरुका लागि महाधिवेशन प्रतिनिधि कसरी चयन भएर आउँछन् भन्ने कुरा धेरै महत्वपूर्ण हुनेछ। देशभरबाट निर्वाचित भई आएका प्रतिनिधिहरुको मिहिन अध्ययन गरेपछि उनीहरुले आफ्नो अन्तिम योजना तय गर्नेछन्।