अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ता हुदैन: माधवकुमार नेपाल

गठबन्धनलाई धोका दिदैनौ

काठमाडौं,असार,१२-पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पदको प्रलोभनमा परेर गठबन्धनलाई धोका नदिने बताउनुभएको छ ।

संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँगको अन्तरक्रियामा नेपालले पाँच दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको लोभमा धोका नदिने बताउनुभयो।पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको उहाँको  भनाइ छ ।

एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उहाँले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिनुभयो । आफूले विगतमा पार्टी भित्र समस्या देखिने वित्तिकै जिम्मेबारीबाट आफूमुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्तामोहमा लिप्त भएको टिप्पणी गर्नुभयो ।

‘एमालेभित्र हामी पनि रहेका छौं, पार्टीभित्र समस्या हुने वित्तिकै राजीनामा दिएका थियौ प्रधानमन्त्रीबाट,’उहाँले भन्नुभयो, ‘नैतिकताको आधारमा पार्टीको प्रमुख पदबाट राजीनामा दिएका थियौ, तर केपी ओलीलाई सत्ता भईरहेपछि त्यो भन्दा बाहेक केही पनि छैन, केपी ओलीजीमा सत्ता, शक्ति र पैसाको मात लागेको छ ।’

नेता नेपालले ओलीप्रती कटाक्ष गर्दै तानाशाहरू डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिएको बताउनुभयो।देशले केपी ओलीको रूपमा तानाशाह पाएको टिप्पणी गर्नुभयो । ओलीले शेरबहादुर देउवा बस्ने कुर्सी नै भाँचिदिएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी नै भाँचिदिन्छु । कुर्सी ताक्ने प्रचण्डले ? भाँचिदिन्छु । कुर्सी ताक्ने माधव नेपालले भाँचिदिन्छु । अहिले शेर बहादुर जीले कुर्सी ताक्नुभयो, कुर्सी नै भाँचिदिनुभयो । न रहे बाँस न बजे बासुरी ।’

प्रधानमन्त्री ओलीले विगतमा पनि आफू, पुष्पकमल र बामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसङ्ग स्मरण गर्दै अब भने कुनै पनि किसिमले विचलित नहुने स्पष्ट पार्नुभयो । केपी ओलीको धेरैपटकको धोका र पटक-पटकको चालबाजीबाट आफैँ हैरान भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको पद दिएपछि माधव कुमार नेपालको मन विचल्लित हुने हो कि खुट्टा काम्ने हो कि ? समय छैन अब । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संविधान र परिर्वतनको पक्षमा उभिएको र त्यसैमा उभिनुपर्छ भन्ने मान्यता बोकेर अघि बढेको हो । ओलीले गलत नीति, गलत विचार, चिन्तन र प्रवृत्ति छोडेर बुद्ध भएर फर्कनुहुन्छ भने ठिक छ । हुन त मलाई त्यत्ति विश्वास त छैन ।’

उहाँले आफू कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफुले गठबन्धनलाई धोका नदिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपाललाई प्रधानमन्त्री आउँछ भन्ने होइन, आइसक्यो तर माधव नेपाल धोका दिने मान्छे होइन । प्रस्ताव फिर्ता गर्ने । कुनै पनि हालतमा यो प्रश्न छैन ।