बाँकेमा थप १५ जना कोरोना संक्रमीतको मृत्यु

बाँके,जेठ,७-पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ८ जना, सल्यान र कैलालीका २-२ जना तथा बर्दिया, प्युठान र दाङका १-१ जना छन्। मृत्यु हुनेमा २५ वर्षदेखि ७१ वर्षसम्म उमेर समूहका छन्।

 जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार  बिहीबार दिउँसोदेखि शुक्रबार बिहानसम्मको समय अवधिमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ७१ वर्षीय पुरुष, कालिमाटी २ सल्यानका ३४ वर्षीय पुरुष, नेपालगन्ज १३ की ६३ वर्षीया महिला, खजुरा ७ बाँकेका ४८ वर्षीय पुरुष, लम्कीचुहा ३ कैलालीका ६७ वर्षीय पुरुष, खजुरा ३ बाँकेका ६७ वर्षीय पुरुष र कपुरकोट ४ सल्यानका ४४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत स्वर्गद्वारी ५ प्युठानका ४० वर्षीय पुरुष, घोराही ५ दाङकी ३५ वर्षीया महिला, घोडाघोडी १० कैलालीकी ४० वर्षीया महिला, गुलरिया ६ बर्दियाकी ५५ वर्षीया महिला, राप्तीसोनारी ३ बाँकेका ३३ वर्षीय पुरुष, राप्तीसोनारी ८ बाँकेकी ५५ वर्षीया महिला, बैजनाथ ६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ ४ बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ।

योसँगै कोरोनाबाट बाँकेका २६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २२२ जनाको मृत्यु भएको छ।