बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिई राहत वितरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौं,साउन,३१-

बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । आज राहत प्रक्रियाका बारेम बुझ्न र निर्देशन दिन हवाई अड्डा निर्देशनालय पुगेका गृहमन्त्री शर्माले सबैलाई न्यायोचित रुपमा राहत वितरण गर्न र बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिन निर्देशन दिनु भएको हो । 

बढी पीडितले राहत नपाएको गुनासोसँगै राहत ढुवानीमा समस्या आएको गुनासो आएपछि गृहमन्त्री शर्मा राहत वितरण कार्यलाई व्यवस्थित बनाउन आफै सक्रिय बन्नु भएको छ ।

‘रौतहट, पर्सा, सप्तरीलगायतका बाढी, पहिरो तथा डुबान प्रभावित विभिन्न जिल्लामा राहत सामग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्माले विमानस्थल भण्डारण कक्षमा पुगेर आवश्यक जानकारी लिनुका साथै निर्देशन पनि दिनुभयो ।गृहमन्त्रीको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सबैतिर राहत पुगोस् भनेर बिहानैबाट प्रत्यक्ष निर्देशन र नियमनको काम भइरहेको छ।

गृहमन्त्री शर्माले राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुलाई विशेष प्राथमिकतामा राख्न तथा बढी प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिईएको छ ।

उहाँले राहत वितरणमा पक्षपात हुन नदिन तथा प्रभावित नागरिक छुट्ने र प्रभावित नभएकाले राहत पाउने अवस्था आउन नदिन समेत विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।