संविधानपछिको पहिलो गणतन्त्र दिवस मनाईंदै

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं, जेठ, १५-

आज १० औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरीे गणतन्त्र दिवस मनाइन्छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको थियो ।लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ ।

गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।

विसं २०७४ माघ ७ गतेसम्म सङ्घ र प्रदेश संसद्को निर्वाचन पनि गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।यसपछि गणतन्त्र संस्थागत भई संविधानसभाले बनाएको संविधान कार्यान्वयन हुनेछ । संविधानसभामार्फत संविधान बनाउने नेपाली जनताको सातदशक लामो चाहनाले संविधान कार्यान्वयनसँगै पूर्णता पाउनेछ ।

आज गणतन्त्र दिवसका अबसरमा सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्चअधिकारी, राजनीतिकदलका प्रमुखहरुको उपस्थिति रहने छ ।

यसैबिचः राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

लोकतन्त्रको स्थापनाका लागि पटक÷पटक भएका आन्दोलन तथा विभिन्न आरोह÷अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको बताउनुभएको छ । उहाँले दशौँ गणतन्त्र दिवसको अवसरमा हाम्रा सम्पूर्ण ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

यस्तै–प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जलि अर्पण गर्नुभएको छ ।

यसैबिच उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना दिदै संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताउनुभएको छ ।

दिवसक अबसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिनुभएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले शुभकामना दिनुभएको हो । नेपालवाणीवाट