देशमा दैनिक ६/७ जनाको बलात्कार भइरहेको छ, रोक्न सकेनौ: गृहमन्त्री थापा

फाईल तस्विर !!

काठमाडौं,असोज,१४-गृहमन्त्री रामबहादुर थापाले मुलुकमा दैनिक ६/७ जनाको बलात्कार भइरहेको जानकारी संसदीय समितिसमक्ष दिनुभएको छ ।

बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘झन्डै ६/७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ ।’

उहाँले बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याइने आश्वासन दिँदै असोज ७ गते बलात्कारपछि हत्या गरिएकी सम्झनाको हत्यामा संलग्न राजेन्द्र बोहोरालाई पक्राउ गरिएको बताउनुभयो ।

थापाले भन्नुभयो, ‘बझाङको घटना होस् कि सिरहा तथा काठमाडौंको, दोषीहरूलाई कानुनको कठघरामा ल्याउन कडा कदम चालिएको छ ।’

बलात्कार र हत्याका घटना न्यूनीकरणका लागि राज्यले कानुन र नियम बनाए पनि रोक्न नसकिएको उहाँको स्वीकारोक्ति थियो । अरु देशको तुलनामा नेपालमा बलात्कारको घटना बढी भएको मान्न नसकिने तर्क पनि उहाँले गर्नुभयो ।

सप्तरीमा भने परिवार र पञ्चायतले बलात्कारको घटनाबारे उजुरी गर्न नदिँदा बालिकालाई आत्महत्या गरेको गृहमन्त्रीले थापाले जानकारी दिनुभयो ।

बलात्कार जस्तो मुद्दामा मेलमिलाप गराउनेलाई पनि कारबाही गरिने उहाँले बताउनुभयो ।

बैठकमा प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले पछिल्ला दिनमा बालिकामाथि यौन-दुर्व्यवहारका घटना बढेको स्वीकार्दै सम्झनाको बलात्कार तथा हत्याका आरोपी राजेन्द्र बोहोराले अपराध स्वीकारेको जानकारी दिनुभयो ।

बलात्कारका अधिकांश घटनामा नजिकका व्यक्ति संलग्न हुने भएकाले रोक्न गाह्रो भएको उहाँको भनाइ थियो ।