सुदूरपश्चिममा होलीको रौनक सुरू,पाँच दिन मनाइन्छ रुपाली होली

फाईल तस्विर।।

कञ्चनपुर,चैत,१४-सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा पाँच दिनसम्म होली मनाइने गरिएको छ ।पहाड र तराईमा गरी दुई दिन मात्रै होली मनाउने गरिए पनि सुदूरपश्चिमको रुपालमा भने फागुन शुक्ल एकादशीका दिनबाट सुरु भएर फागु पूर्णिमाको दिन होली मनाउने गरिन्छ । पछिल्लो समय बसाईसराईका कारण कञ्चनपुरमा पनि रुपाली होलीको रौनक बढेको छ ।

पहिले सुदूरपश्चिमको डडेल्धुराको रुपालमा मात्र खेलिने रुपाली होली आजकाल तराईका जिल्लाहरूमा पनि खेल्न थालिएको छ । बसाईसराईका कारण रुपाली होली कैलाली तथा कञ्चनपुरमा पनि भव्य रूपमा मनाउन थालिएको छ ।

परम्परागत रूपमा फागुन शुक्ल अष्टमीका दिनबाट हलहली अर्थात चिर (लिङ्गो) गाड्ने गरिन्छ भने एकादशीका दिन त्यसमा रंग (अविर) चढाएपछि मात्रै रुपाली होली खेल्न सुरु गरिन्छ । होली खेल्दा यस समुदायका पुरुषहरू सेतो कपडामा सजिएर सामुहिक रूमा रङ खेल्छन् ।

खुसीयाली र उमंग मनाउन खेलिने होली पर्वमा रुपाली समुदायले महाभारत, रामायण लगायत धार्मिक ग्रन्थमा आधारित कथाहरू गाउँदै होली मनाउने गरेको भिमदत्त नगरपालिका १८ का स्थानीय भाष्करदत्त जोशी बताउनुहुन्छ ।

होली पर्वको सबैभन्दा ठूलो दिन फागु पूर्णिमामा रुपालीहरू एकअर्काको घरमा गएर होलीको टीका लगाउँदै आशिर्वाद आदानप्रदान गर्ने गर्दछन् । साथै अष्टमीका दिन गाडिएको चिरलाई फागु पूर्णिमाको राति जलाएर प्रसादस्वरूप त्यसको खरानीको टीका लगाउने प्रचलन छ । होलीलाई विजय उत्सवका रूपमा मनाउने गरिएको भीमदत्त नगरपालिकाका स्थानीय कृष्णराज कलौनीको अनुभव छ ।

होलीको दिन ठूलाबाट सानाले आर्शिवाद लिने चलन छ भने घरका सम्पूर्ण परिवार मिलेर होलीलाई विशेष बनाउने गरिन्छ । घरको सबै काम सकेर महिलाहरू पनि होलीमा सहभागी हुने गर्दछ् भने एक आपसमा गीत गाएर रमाइलो गर्ने चलन छ ।