पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

काठमाडौं,चैत,१४-थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकामा सदुपयोग गर्न सकेनन् ।बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । तर, गोल निकाल्न सकेन ।

खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो ।बंगलादेशले पनि पहिलो हाफमा केहि गोलको अवसर निकालेको थियो ।

खेलको ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले गोललाइनको ठिक अगाडीबाट क्लियर गरेका थिए ।
खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।