देशभरका ५ सय २३ स्थानमा डढेलो, एकै जिल्लाको ६० ठाउँ सखाप

फाईल तस्विर !!

काठमाडौं,चैत,१४-चैत महिना लागेसँगै देशैभर ५६ जिल्लाका ५ सय २३ स्थानमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागेको हो ।

पर्सामा मात्र ६० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ भने मकवानपुरमा ४१, चितवनमा २७ र नवलपुरमा २६ ठाउँमा डढेलो लागिरहेको छ । तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्य तराई तथा केही पहाडी भेगमा डढेलो निकै फैलिएकोले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन् ।

तराईका चारकोशे जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा राजमार्गमा चल्ने सवारी साधन जोखिममा पर्न थालेका छन् । राजमार्ग किनारमा लागेको डढेलोले दुर्घटनासमेत बढेको छ । धुलो र डढेलोको धुँवाले वायुमण्डल ढाकिँदा जनजीवन पनि कष्टकर बनेको छ ।

आगलागी भएका तराईका विभिन्न जिल्लामा हवाइ उडान पनि प्रभावित भएको छ । हिजोदेखि बढेको वायु प्रदूषणको मुख्य कारण पनि डढेलो नै रहेको वातावारण विभागले जनाएको छ । वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ ।