बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

फाईल तस्विर !!

काठमाडौं,चैत,१४-नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।यस बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो ।बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको थियो ।किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो ।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । 

खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो ।खेलको ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले गोललाइनको ठिक अगाडीबाट क्लियर गरेका थिए ।

खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।खेलको ५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सहजै बचाए ।

६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अविशेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन ।खेलको ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिएको थियो ।

तीन खेलाडीको डेब्यु

बंगलादेशविरुद्ध बराबरी खेलेको खेलमा नेपालका तीन खेलाडीले राष्ट्रिय टिमका लागि डेब्यु गरे ।मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती-११ मै डेब्युको अवसर पाए ।यस्तै डिफेन्डर निशान खड्का खेलको ७१ औं मिनेटमा रञ्‍जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।