आर्मीले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने

फाईल तस्विर : त्रिभुवन आर्मी  क्लव !!

काठमाडौ,चैत्र,१५-एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

आर्मीले (आज) आइतबार दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ । खेल निशुल्क हेर्न सकिनेछ ।

आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।आर्मीले प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।

पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।यस प्ले अफको विजेताले समूह चरणको समूह ‘डी’ स्थान बनाउने छन् ।

समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।