जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्ने

सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौं,साउन,१३-जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ।पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठक आज पुन १ बजे बस्ने भएको छ ।

बैठकमा यादव पक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन् । आज बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बुझिएको छ ।

यसअघि हिजोको बैठकले संसदीय दलको विधान पारित गरेको थियो।दलको विधान पारित भएसँगै अध्यक्ष उपेन्द्र यादव पुनः दलको नेता बन्नुभएको छ।निर्वाचन आयोगबाट यादव पक्षले दलको अधिकारिकता पाएपछि यादवै दलको नेता बन्नुभएको हो ।

हिजोको बैठकमा महन्थ पक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित भएनन्।साथै हिजोको बैठकले लुम्बिनी प्रदेशका जसपाका तनि सांसदलाई कारबाही गरेको छ ।

बैठकले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गर्ने निर्णय गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाण्डे, यादव र लम्साल तथा सुमन शर्मा रायमाझीले मन्त्री पदको शपथ लिएका थिए ।