केन्द्र संचालनमा प्रधानध्यापकले जिम्मेवारी निर्वाह गर्ने

भिष्म लोध,

नेपालगञ्ज,जेष्ठ,३०-
बाल बिकास केन्द्र संचालनका लागि स्थानीयस्तरका सबै बिद्यालयहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । पछिल्लो समय जिल्लामा कतिपय बाल बिकास केन्द्र बन्द भएर नै तलब बुझिरहेको गुनासोमा आएकाले स्थानीयस्तरमा रहेका नजिकका बिद्यालयका प्रधानध्यापकहरुले संचालनका लागि जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइएको हो ।

सोमबार नेपालगञ्जममा एको बाल बिकास केन्द्र व्यवस्थापन सम्बन्धि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाहरुको सिकाईका लागि राखिएका सहयोगी कार्यकर्ताहरुलाई नियमित गराउनका लागि बन्द भएका केन्द्रका शिक्षिकालाई कारवाही गर्न सकिएमात्र नियमितता कायम हुन सक्ने कुरामा जोड दिइएको थियो ।

अन्तरक्रियामा बोल्दै बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले नजिक रहेको बिद्यालयका प्रधानध्यापकहरुले पनि बाल केन्द्र संचालनमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नजिक बिद्यालयहरुको थोरै सक्रियताले बन्द भएका केन्द्र नियमित हुनसक्ने भएको हुँदा नियममा रहेर वास्तविक निगरानी गरिदिन आग्रह गर्नुभएको हो ।

बाल बिकास केन्द्रका फोकल पर्सन लोक बहादुर शाहीले कतिपय स्थानहरुमा प्रअ, शिक्षकका नजिकका मान्छेहरु केन्द्रको शिक्षिका रुपमा रहेको र त्यस्ता केन्द्रहरु नै अनियमित भएको गुनासोहरु आएकाले वास्तविक तथ्याँक दिनु सबै प्रधानध्यापकलाई अनुरोध गर्नुभयो । उहाँले बन्द भएको जानकारीमा आएको केन्द्रबारे श्रोतव्यक्तिमार्फत बिस्तृत अवस्था बुझिरहेकाले त्यसबाट पनि तथ्य आउने बताउनुभयो ।

प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपालले यस अघि केन्द्र व्यवस्थापन सम्बन्धि दिएको तालिमबाट आएका उपलब्धीहरुबारे आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बिद्यालय निरिक्षक जीवन न्यौपाने, प्लानका सिकाई कार्यक्रम संयोजक संजीव जोशी लगायतले बाल बिकास केन्द्रको समस्या तथा स्थानीयस्तरमा उपलब्धी प्राप्त गर्न गरिने कार्यबारे बोल्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका बिभिन्न सामुदायिक बिद्यालयका प्रधानध्यापक, शिक्षक, प्लानका चार वटै क्षेत्रका बिकास संयोजकहरुको सहभागिता रहेको स्याकका सिनियर सुपरभाईजर लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्लामा केहीसमय अघि स्याकले गरेको सर्बेक्षणमा ४४ वटा बाल बिकास केन्द्र बन्द रहेको तथा ७ वटा अनियमित रहेको भेटिएको छ, भने जम्मा ५ सय १५ वटा बाल बिकास केन्द्रको सर्वेक्षण गरिएको थियो । सरकारले चार घण्टा केन्द्र संचालन गरेबापत सहयोगी कार्यकर्ता शिक्षिकालाई मासिक रुपमा ६ हजारका दरले तलब उपलब्ध गराउँदै आएको छ ।