कम्युनिष्टलाई देउवाको चेतावनी : गगन भन्छन’ कम्युनिष्ट विरुद्ध कांग्रेसले सिकार गर्छ

विचारबाट कम्युनिस्टहरु विचलित भईसकेको शशांकको भनाई

काठमाडौं,असोज,११-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिनुभएको छ ।

आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

कम्युनिस्टहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको भन्दै देउवाले प्रजातन्त्रको विकल्प अरु हुन नसक्ने पनि बताउनुभयो ।उहाँले जनताको अधिकार रक्षाका लागि चाडबाडलगत्तै आन्दोलन गर्नुपर्ने भएकाले तयारी गर्न पनि निर्देशन दिनुभयो ।उहाँले कर, भ्रष्टाचार र महँगीको पर्याय वर्तमान ओली सरकार भएको भन्दै जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाउनुभयो ।

देउवाले ओली सरकारबाट जनताले मुक्ति चाहेको भन्दै सरकार आफैं पतनको बाटोमा गएको जिकिर गर्नुभयो।नेपाली कांग्रेस एक भए कसैले हराउन नसक्ने भन्दै अन्तर्घातलाई त्यागेर एकजुट हुन पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कम्युनिस्टहरु विचारबाट विचलित : शशांक

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिस्ट शासनको प्रतिवाद जनता आफैंले गर्न थालेको बताउनुभयो ।उहाँले कम्युनिस्टहरु विचारबाट विचलित हुँदै गएको भन्दै नेपाली कांग्रेसको आदर्श, सिद्धान्तबाट अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कम्युनिस्ट पार्टीविरुद्ध कांग्रेसले सिकार गर्छ : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले आफूलाई सिंहको उपमा दिने कम्युनिस्ट पार्टीविरुद्ध कांग्रेसले सिकार गर्ने बताउनुभयो ।कम्युनिस्ट पार्टीले जनताको विरुद्ध कानुन ल्याउन खोजेको भन्दै त्यसको सदन र सडक दुवै ठाउँबाट प्रतिवाद गरिने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ, तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो।कार्यक्रममा नेपाली कांग्रेसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।ईमेजबाट