थ्री नेसन्सका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा

नेपालले भोलि (बिहीबार) पहिलो खेलमा किर्गिस्तानसँग खेल्ने

काठमाडौं,चैत,११-नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन्।महर्जनले विश्वकप छनोटका लागि चलिरहेको बन्द प्रशिक्षणबाट १० जनालाई हटाएपछि २३ जनालाई थ्री नेसन्स खेल्ने नेपाली टोलीमा समावेश गरेका हुन्।

घोषित टोलीको कप्तानी नियमित गोलरक्षक किरण चेम्जोङले गर्नेछन्। उनीबाहेक गोलरक्षकका रुपमा राष्ट्रिय टोलीमा विकेश कुथु र दिप कार्कीको विकल्प रहनेछ।यस्तै डिफेन्समा रञ्जित धिमाल, निसान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंसी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ रहेका छन्।

मिडफिल्डमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रभी शङ्कर पासवान रहेका छन्।अग्रपंक्तिको जिम्मा भने अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवसले पाएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भोलि (बिहीबार) पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।दोस्रो खेलमा नेपालले बंगलादेशसँग चैत १४ गते खेल्नेछ ।