आयोजनाको पूर्वतयारी गरेपछि मात्रै ठेक्का लगाउन कडाई गर्न निर्देशन

फाईल तस्विर !!

काठमाडौं, चैत ११-प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा हनुमन्ते कोरिडोरको हालसम्मको कार्य प्रगतिको सम्बन्धमा छलफल गरेपछि समितिले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

हनुमन्ते कोरिडोरको निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिए पनि मध्यपुरथिमि र सुर्यविनायक नगरपालिका भित्रका केही स्थानमा देखिएका समस्यालाई तत्काल समाधान गर्न समितिले सुझाव दिएको छ ।

कोरिडोर निर्माणका क्रममा नागरिकको जग्गा समेत पर्ने भएकोले सम्पत्तिको हक संरक्षण गरी जग्गा एकीकरण योजना मार्फत सुनिश्चित गर्ने र अन्य समस्या समाधानका लागि समितिले समेत पहल गर्ने निर्णय बैठकले गरेको सभापति खड्काले बताउनुभयो ।