प्रचण्डले राखेको बैठक सकियो, औपचारिक बैठक राख्न ओलीलाई सामुहिक आग्रह गर्ने

काठमाडौं,कार्तिक,२१-सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ।

पार्टी कार्यालय धुम्बाराहीमा आज शुक्रबार भएकाे सो बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले सो कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय गरिएको छ।

पाँचै जना सचिवालय सदस्यले ओलीलाई शनिबार भेटेर बैठक राख्न आग्रह गर्ने निर्णय गरी बैठक टुंगिएकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रचण्डले सो अनौपचारिक बैठक पनि ओलीको समेत सहमतिमा गरिएको जानकारी गराउनु भएको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार औपचारिक बैठक राखेमा त्यहि नै पार्टी फूटको बिन्दू हुने भनी ओलीले आफूलाई बताएका कारण अनौपचारिक बैठक राखिएको भनी प्रचण्डले सो बैठकमा अन्य नेताहरुलाई जानकारी गराउनु भएको थियो ।

बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउन कसैले सोचेको भए त्यो अपराध हुने बताउनुभयो।‘पार्टी एकताको जग त्यति कमजोर छैन र कसैले त्यो सोचेको छ भने त्यो अपराध हो,’ नेता नेपालले भन्नुभयो।

पार्टी फुट्ने स्थिति आए तपाईं प्रचण्ड वा ओली कुन पक्षतर्फ हो भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाॅंले भन्नुभयो, ‘म ओली वा प्रचण्ड कतैतिर होइन, म नेकपातिर हो।’

प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकबाट सर्वसम्मत् गरिएका निर्णय कार्यान्वयनमा समेत समस्या आएपछि आफूहरुले अध्यक्ष ओलीलाई यसअघि पनि पटक पटक मौखिक तथा लिखितरुपमा समेत बैठक राख्न आह्वान गरेको समेत बताउनुभयो।नेपालखबर