
काठमाडौं,कार्तिक,२१-भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन्।अपरान्ह ४:४५ बजे उनी इन्डिया एयरफोर्सको विशेष विमान स्वदेश फर्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
यसअघि बुधबार उनलाई ल्याएर सोही दिन दिल्ली फर्किएको विमान उनलाई लिनका लागि शुक्रबार बिहान ११ बजेतिर काठमाडौं अवतरण गरेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा श्रीमती विनासहित बुधबार उनी नेपाल आएका थिए। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी थिइन्।
शुक्रबार माउण्टेन फ्लाइटमार्फत सगरमाथासहित हिमालको अवलोकन गरेका नरवणेले काठमाडौं आएकै दिन पशुपति र कुमारी देवीको दर्शन गरेका थिए।
बुधबार प्रधानसेनापति थापा र राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका उनी साँझ प्रधानसेनापतिले गरेको रात्रिभोजमा सहभागी भए। शुक्रबार स्वदेश फर्किनुअघि रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने चलनअनुसार उनी सम्मान ग्रहणका लागि बुधबार नेपाल आएका थिए। नेपाली सेनाको १८औँ मानार्थ महारथी बनेर स्थल सेनाध्यक्ष नरवणे स्वदेश फर्किएका हुन्।