नेपालको कुटनीतिक सम्बन्ध अब राष्ट्रसंघका ८० प्रतिसत मुलुकसँग

काठमाण्डौं,पौष,८-

संयुक्त राष्ट्रसंघका ८० प्रतिसत सदस्य राष्ट्रसँग नेपालले आफ्नो कुटनीतिक सम्बन्ध बिस्तार गर्न सफल भएको छ। पछिल्लो पटक शनिवबार (८ पुष २०७४ तदनुसार २२ डिसेम्बर २०७४) पश्चिमी युरोपको लिच्टेन्स्टाइनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेसँगै राष्ट्रसंघका सदस्यमध्ये नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या ८० प्रतिसत पुगेको हो।

र, यो प्रतिसतसँगै नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या अब १ सय ५५ पुगेको छ। ७ पुषमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्रसंघका लागि लिच्टेन्स्टाइनका प्रतिनिधि क्रिश्चियन वेनवेसरले औपचारिक सहमति पत्रमा हस्ताक्षर गरेका थिए। यद्यपी, दुई मुलुकबीच कुटनीतिक सम्बन्ध भने ८ मंसीर (२२ नोभेम्बर) मा नै भइसकेको थियो।

संयुक्त राष्ट्रसंघका सदस्य रहेका नेपाल र लिच्टेन्स्टाइनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको विषयमा भट्टराई र वेनवेसरले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई जानकारी गराइएको सहमतिपत्रमा समेत शनिबार नै हस्ताक्षर गरेका थिए।

न्यूयोकस्थित नेपालको राष्ट्रसंघीय नियोगमा भएको बैठकमा दुबै राजदूतले दुई मुलुकबीच राष्ट्रसंघको सीमा र परिधिभित्र रहेर दुई मुलुकबीचको सहयोग र सम्बन्ध विस्तारमा अहिले स्थापित प्रत्यक्ष कुटनीतिक सम्बन्धले थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

न्यूयोर्कस्थित नेपालको राष्ट्रसंघीय नियोगले बताए अनुसार, लिच्टेन्स्टाइन संवैधानिक राजतन्त्र रहेको पश्चिम युरोपेली मुलुक हो, जहाँ जर्मन भाषा बोल्ने गरिन्छ। बादुज शहरलाई आफ्नो राजधानी बनाएको यो मुलुक स्वीट्जरल्याण्ड र अष्ट्रियाको बीचमा रहको भूपरिबेष्ठित मुलुक हो।भुपरिबेष्ठित हुनुका बावजुद यो मुलुक विश्वका कुल उत्पादन र कम बेरोजगारी भएका मुलुकमध्ये पर्छ।नेपाल खबरबाट