कार्य सम्पादनमा घोराही उपमहानगरपालिका देशभरकै उत्कृष्ट

नरेश खडका/
दाङ, भदौ,२१-

घोराही उपमहानगरपालिका न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा देशभरिकै उत्कृष्ट भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय निकाय वित्तीय आयोगले गरेको मूल्यांकनमा घोराही उपमहानगरपालिका ९१ अंक ल्याएर प्रथम भएको हो ।

आथिर्क वर्ष २०७२/०७३ मा आयोगका स्थानीय शासनविज्ञ र वित्तीय बिज्ञले गरेको मूल्यांकनमा उपमहानगरपालिका प्रथम भएको कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । नगरले सम्पादन गरेका कामको सूचकहरुका आधारमा अंक प्रदान गर्ने गरिएको हो । घोराही उपमहानगरसहित बुटबल उपमहानगरले पनि ९१ अंक ल्याएर प्रथम नै भएको छ ।

साविक घोराही नगरपालिका यसअघि आर्थिक वर्ष २०६७/०६८ मा पनि प्रथम भएको थियो । यसैगरी ९० अंक प्राप्त गरि धनकुटा र हेटौडा दोस्रो तथा कमलामाई ८७ अंक प्राप्त गरी तेस्रोमा आएका छन् । यसैबीच साविकको जिल्ला विकास समिति न्यूनतम शर्तमा पास भए पनि कार्य सम्पादन मापनको कार्य क्षेत्रमा तोकिएको न्यूनतम अंक प्राप्त गर्न सकेको छैन ।