खप्तड गोल्डकपमा सुदूरपश्चिम ११ को विजयी सुरुवात

भोली सहारा युवा क्लब र एपीएफ क्लबबीच खेल हुने

कैलाली, पुस २१- 

कैलालीको धनगढीमा आज देखी शुरु भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विजयी सुरुआत गरेको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम–११ ले च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्‍यो ।

जितसँगै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ । क्षेत्रीय रंगशालामा भएको खेलको निर्धारित् समयमा दुवै टिमले एक/एक गोलको बराबरी खेलेका थिए ।

खेलको ७१औं मिनेटमा विदेशी खेलाडी सेगुनको गोलमार्फत् अग्रता कायम गरेपनि च्यासलले सो अग्रतालाई जोगाउन सकेन । ८५औं मिनेटमा घरेलु टिमका विनोद केसीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

आयोजक टिमको पहिलो हाफको प्रदर्शन राम्रो रहेन । मध्यान्तरपछि केही आक्रमक देखिएको सुदूरपश्चिम–११ ले पाएका केही सुनौलो मौकालाई गोलमा परिणत गर्न सकेन ।

सुदूरपश्चिम–११ का खेलाडीले गल्ती गरेपछि च्यासलले दोस्रो हाफमा एक पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेन । उसका विदेशी खेलाडीको प्रहार गोलपोस्टभन्दा माथिबाट बाहिरिएको थियो ।

खेलको ‘म्यान अफ द म्याच’ आयोजक टिमका गोलकिपर विनोद भट्टराई घोषित भए । पेनाल्टी सुटआउटमा च्यासलको पहिलो प्रहारलाई उनले रोकेका थिए ।

१२ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत् भोली शनिबार सहारा युवा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुने जनाइएको छ ।