ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२२-
ओखलढुंगाका १० जना उम्मेद्वारले चुनावी खर्च विवरण पेश गरेका छन् । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले चुनावी खर्च विवरण पेश गरेका हुन् । उम्मेद्वारहरुले निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर बिबरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।

आयोगले निर्धारण गरे अनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो । निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा एमालेका यज्ञराज सुनुवारले २४ लाख ५० हजार खर्च गरेको पाइएको छ ।

वाम गठबन्धनबाटै प्रदेशसभा क मा उम्मेदवार बनेका नेकपा एमालेका अम्बिरबाबु गुरुङ्गले १४ लाख ५० हजार खर्च भएको विवरण पेश गर्नुभएको छ । यस्तै प्रदेशसभा ख बाट उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका मोहन कुमार खड्का हिमशिखरले १४ लाख खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।

यस्तै प्रतिनिधि सभाका नेपालि काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले १७ लाख ३० हजार, प्रदेश सभा क्षेत्र नम्बर १ को क का उम्मेदवार मित्रसेन दहालले ९ लाख ४८ हजार र प्रदेश सभा क्षेत्र नं. ख का उम्मेदवार प्रदीप सुनुवारले ९ लाख ४८ हजार रुपौयाको खर्च बिबरण पेस गर्नुभएको छ ।

अन्य राजनीतिक दलका उम्मेदवारहरुले पनि खर्च बिबरण बुझाएका छन् । ओखलढुंगामा प्रदेशभा तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार बनेका एक स्वतन्त्र सहित सोह्र उम्मेदवारले निर्वाचना खर्च बुझाउन अझै बाँकी रहेको छ ।