उच्च अदालत ओखलढुंगामा लक्ष्य अनुसार मुद्दा दर्ता भएन

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२२-

Okhaldhunga district

ओखलढुंगा उच्च अदालतमा चालु आर्थिक वर्षमा अनुमान भन्दा कम मुद्दा दर्ता भएका छन् । अघिल्लो आवको अनुमानमा लक्ष्य राखिएपनि त्यसअनुसार मुद्दा दर्ता नभएका हुन् । यस आर्थिक वर्षभित्रमा कुल ३ सय ४८ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो ।

पुष मसान्तसम्ममा १ सय ७४ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा हालसम्म ७८ वटा मात्र दर्ता भएका छन् । यसवर्ष मुद्दा दर्ता कम हुनुमा लगातार दुईपटक भएको चुनावले असर गरेको हुनसक्ने अनुमान गरिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उच्च अदालतले आफ्नो काम कारबाही सम्बन्धमा जानकारी गराएको थियो । गत आवबाट २ सय ४९ मुद्दा जिम्मेवारी सरेको थियो । चालु आवमा ३ सय ४८ नया“ मुद्दा दर्ता भई कुल ५ सय ९७ दर्ता हुने अनुमान थियो ।

त्यसमध्ये ४ सय १८ (७० प्रतिशत) फैसला गर्ने लक्ष्य राखिएकोमा अनुमान अनुसार दर्ता नभएपछि प्रतिशतको हिसाबले लक्ष्य भन्दा बढी फैसला भएका छन् । पुष सम्म १ सय ५१ फैसला गर्ने लक्ष्य रहेकोमा हालसम्म १ सय ५२ फैसला भईसकेको अदालतले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अदालतले सबैभन्दा बढि भौतिक पुर्वाधार र कर्मचारी अभाव झेल्दै आएको छ । कम्तिमा ८ रोपनी क्षेत्रफलको जग्गा सदरमुकाम आसपासमा पाएमा नया“ भवन निर्माणका लागि सर्वोच्चबाट अनुमति समेत पाईसकेको जनाएको छ ।