एमाले एकमात्र मूलधारको पार्टी : अध्यक्ष ओली

काठमाडौं,चैत्र,९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले मात्रै भएको दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनका भ्रमपूर्ण विचारहरु प्रवाह भएको, जनविरोधी प्रचार भएको भन्दै सत्तापक्षले गलत इतिहास रचना गर्न खोजिएकामा आपत्ति जनाउनुभयो । उहाँले एमालेलाई कम्युनिस्ट पार्टी मध्येको ठूलो एमाले भन्नेजस्ता शब्दावली भुल बस, नियतबस प्रयोग हुने गरेको पनि दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रलाई अघि बढाउने नीति, जननिर्वाचित प्रतिनिधि र व्यवहारिक प्रश्नमा पनि एमाले नै मुलुकको प्रमुख पार्टी भएको जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा उत्साहका साथ जनतामा गएर पार्टीको इतिहासलाई थप मजबुत पार्ने बताउनुभयो । त्यस्तै, उहाँले एमालेसँगै सबैभन्दा पुरानो पार्टी प्रजापरिषद् समेत रहेको अवस्थामा मूलधारको पार्टी एमाले भन्न अप्ठारो नमान्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले जनताको घरदैलोमा विकास पुर्‍याउने स्थानीय सरकारले भएको बताउनुभयो । केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उहाँको भनाइ थियो । बैठकमा उहाँले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गर्नुभएको छ । पार्टीले चुनाव केन्द्रित ‘सिपिएन युएमएल’ नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने अध्यक्ष ओलीले बताउनुभयो ।