आफ्नै कारमा खुट्टा अल्झेर लड्दा कलाकार जयनन्द लामाको निधन

कलाकार लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौ,फाल्गुन,११-वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ।उहाँको निधन आफ्नै कारमा अल्झिएर लड्दा भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ।प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध जानु भएको थियो। उहाँ बिहान आफ्नै घर अगाडि मृत फेला पर्नु भएको थियो।

‘राति बौद्धबाट फर्किनु भएको थियो। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भन्नुभयो ।

‘बिहान  ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारूती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा लामा मृत फेला पर्नु भएको हो’, सूचना अधिकारी प्रनाउ राजु पाण्डेले बताउनुभयो ।पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्। 

‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने  सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्। उहाँ लडेको बिहान मात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो। अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,’ प्रनाउ पाण्डेले भन्नुभयो”प्रनाउ पाण्डेका अनुसार अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले‍ पाँच दशकअघि गायन यात्रा शुरू गर्नु भएको थियो। 

लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गर्नु भएको थियो।पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनु भएको थियो ।

यसैबिच: कलाकार लामाको निधनप्रती राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै राष्ट्रपति भण्डारीले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको हो ।

 

यसैगरी, प्रधानमन्त्री देउवाले पनि लामाको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । बुधबार उहाँले सामाजिक सञ्जालमार्फत् ‘कलाकार लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

कलाकार लामाको असमायिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको भन्दै प्रधानमन्त्री देउवाले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट व्यक्त गर्नु भएको हो ।