देशलाई ठग्नेविरुद्ध एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी काम गर्नेछुः मन्त्री आले

काठमाण्डौं,फागुन,१०-संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) लागेको बताउनु भएको छ।

सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस-२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताउनु भएको थियो।

उहाँले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘जतिपनि मैले कामको थालनी गरेको छु। मातृभुमिलाई साक्षि राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु। यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु।’

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताउनुभयो। उहाँले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गर्नुभयो। बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पार्नु भएको थियो। 

आफूलाई पटक-पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उहाँले बताउनुभयो। सो अडियो पूर्ण सत्य नभएको उहाँले प्रष्ट पार्नु भएको थियो। मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताउनु भएको थियो।