अमेरिकाको जोन्सन एन्ड जोन्सनले नेपाललाई १० लाख डोज कोरोना खोप पठाउने

काठमाण्डौं,असार,२१-अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले आगामी एक महिनाभित्र नेपाललाई खोप उपलब्ध गराउने भएको छ । जोन्सन एन्ड जोन्सनले कोभ्याक्स सुविधामार्फत एक महिनामा १० लाख डोज दिने प्रतिबद्धता जनाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसअघि जोन्सन एन्ड जोन्सनले ६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । ‘एउटा उमेर समूहलाई पुग्ने खोप उपलब्ध हुने भएको छ, खोप आगामी एक महिनाभित्र प्राप्त हुने निश्चित भएको छ,’ विभागका एक उच्च अधिकारीले भने ।

कोरोनाविरुद्धका अन्य खोप दुई डोज लगाउनुपर्छ, तर जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । नेपालले जोन्सन एन्ड जोन्सन कम्पनीसँग कोभ्याक्स सुविधामार्फत एक करोड खोप खरिदका लागि प्रस्ताव गरेको छ ।