उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको आग्रह

काठमाडौं,असार,२१-नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो ।

संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै हाल तोकिएको ५० प्रतिशत उडान संख्यालाई शतप्रतिशत पुर्‍याउन माग गरेको हो । हाल कायम भएको संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने भन्दै संघले उडान संख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरूले धान्नै नसक्ने उल्लेख गरेको छ ।

उडान संख्या कम हुनेबित्तिकै सञ्चालन खर्च स्वतः बढ्ने भन्दै संघले संख्या थप्न आग्रह गरेको हो । निषेधाज्ञा अगाडि दैनिक करीब १५ हजार हवाई यात्रुले सेवा लिएको तथ्यांक छ । यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान भएको संघले प्रस्ट्याएको छ ।

अहिलेको विषम परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको भन्दै संघले यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलने तरिकाले उडान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसका लागि निषधाज्ञा अगाडिकै उडान संख्या बढाइदिन भनिएको छ ।