प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने

अन्तिम पटक मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं,फाल्गुन,३-

प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लाग्नु भएको छ । उहाँले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आज बिहान ९ बजे यो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक राखिएको र सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । ‘९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक परियारले बताउनुभयो ।

देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको थियो । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बन्नु भएका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लाग्नु भएको हो ।