काठमाडौं,मंसिर,३-
बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ।साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको थियो ।यस्तै, सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।भूकम्पको धक्कापछि स्थानीयहरु अत्तालिएर घरबाट बाहिर निस्किएका थिए ।
भूकम्पको केन्द्रविन्दु रहेको बझाङको खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष हिक्मत खत्रीले हालसम्म कुनैपनि किसिमको क्षतिको विवरण नआएको बताउनुभयो ।यो विनाशकारी ‘गोरखा भूकम्प’को पराकम्पन नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।