विश्वकप फुटबल छनोट : नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्ने

खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुने

काठमाडौं,मंसिर,३-

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

(लाईभ हेर्न दिएको लिंकमा क्लिक गर्नुहोस् ।)      

नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा हुनेछ ।थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि नेपाल र कुवेतले न्युट्रल भेन्यु भुटानमा खेल्न लागेको हो ।

खेलका लागि प्रशिक्षक योहान कालिनले सुरुवाती ११ छनोट गरेका छन् । टोलीको गोलरक्षण किरण चेम्जोङले सम्हालेका छन् ‌। डिफेन्समा अन्नत तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी र रञ्जित धिमाल रहेका छन् । रोहित चन्द र विक्रम लामासँगै तेज तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् । विङ्समा सुजल श्रेष्ठ र रवी पासवान तथा एकल फरर्वाडमा अभिषेक रिजाल खेल्नेछन् ।

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् । समूह ‘बी’मा रहेको नेपाली टोलीले खेल्ने ८ खेल मध्ये आधा यात्रा तय गरिसकेको छ । जसमा नेपालले ३ खेलमा हार र १ खेलमा जित हासिल गरेको छ ।

त्यहि कुवेत हो जुन टोलीसँग अपेक्षाविपरित ७–० को हार बेहोर्दे नेपालले छनोटको यात्रा थालेको थियो । नेपाली टोली सबै अवे खेल सकिसकेको छ । अब बाँकी खेल होममा खेल्नुपर्नेछ । तर, बाध्यता नेपाली टोली भुटानको चाङलिमिथाङमा कुवेत संग खेल्दैछ । 

एएफसीले दशरथ रंगशाला खेलका लागि मापदण्ड नपुग्ने निर्णय सुनाएपछि कुवेतले त्यसलाई मौकाका रुपमा पुरा उपयोगको कोसिस गरेको थियो । एएफसीका अध्यक्षलाई भेटेर आफुले चाहेजसरी नेपाली टोलीसँग खेल्ने प्रयास गरेको थियो । तर, एएफसीले नेपालले प्रस्ताव गरेको भुटानको मैदानलाई लालमोहोर लगाउँदै कुवेतलाई त्यहाँ पुग्न बाध्य पारेको थियो ।

तर भुटान यात्रा गर्नु अघि नेपाली राष्ट्रिय टोलीका चार खेलाडीलाई बर्खास्त गरिएको छ । अघिल्लो राती डिस्को गएको कारण देखाउँदै एन्फाले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशीलाई विदाईका लागि कारवाही गर्दै घर फर्काएको थियो । २३ सदस्य मध्ये ४ खेलाडीको विकल्पमा सुवास गुरुङलाई थप्दै २० सदस्यीय फुटबल टोली भुटान प्रस्थान गरेको थियो ।