प्रधानमन्त्रीको राजीनामा भोलिसम्ममा

काठमाडौं,जेठ,९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको भद्र सहमतिलाई पालना गर्दै प्रधानमन्त्री दाहालले बुधबारभित्र राजीनामा दिने स्पष्ट पारेका हुन्।

‘सत्तारूढ कांग्रेससँग जे भद्र सहमति भएको थियो, त्यहीअनुसार अब हामी १० गतेभित्र छाड्छौं,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकमा भने। प्रधानमन्त्री दाहालले १० गतेभित्र सरकारबाट राजीनामा दिने बताए पनि नीति तथा कार्यक्रम र बजेट भने यही सरकारले ल्याउने बताएका थिए।

‘सरकारबाट राजीनामा दिएपछि सहमति र बहुमतको प्रक्रिया अघि बढ्छ,’ प्रधानमन्त्रीले भने, ‘प्रक्रियाको अवधिका बीचमा नीति तथा कार्यक्रम र बजेट यहीँ सरकारले काम चलाउका रूपमा ल्याउनेछ।’ प्रधानमन्त्री दाहालले यसअघि नै दोस्रो चरणको निर्वाचनको सुनिश्चितासहित आफूले पूर्वसहमतिअनुसार राजीनामा दिने घोषणा गरेका थिए।

उनीनिकट स्रोतका अनुसार प्रधानमन्त्रीले १० गते राजीनामा दिने तयारी गरेका छन्, १० गते नभए ११ गते प्रधानमन्त्रीको राजीनामा आउने स्रोत बताउँछ। पार्टी केन्द्रीय कार्यालय सदस्य मणि थापाले बैठकमा समसामयिक विषय तथा निर्वाचनलगायतका विषयमा छलफल भएको जानकारी दिँदै पार्टी अध्यक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिने विषयलाई मान्यता दिएको बताए ।

‘उहाँले अब सत्ता साझेदार दलसँग छलफल गरेर राजीनामा दिनुहुनेछ, बैठकले उहाँको राजीनामा दिने विषयलाई मान्यता दिएको छ।’ बैठकमा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताएका थिए ।