नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण हुँदै

फाईल तस्विर !!

बाँके,फाल्गुन,२५-नेपाल आयल निगमले बाँकेको नेपालगञ्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जानकारी दिएको छ । 

कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । करीब रू. साढे तीन करोड लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमूना पम्पका रुपमा रहेको छ । निगमले आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अटोमेशनसहित अत्याधुनिक पम्म निर्माण गर्न लागेको हो । 

पम्पमा दुई ओटा डिजेल र ३ ओटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन राखिने छ । पम्पमा ओपनिङ स्कट, क्लोजिङ स्टक, विक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाटै हेर्न सकिने छ ।

पम्प सौर्य ऊर्जाबाट समेत सञ्चालन हुने निगमले जानकारी दिएको छ । पम्पभित्र एटिएम कार्डबाट भुक्तानी गर्न सकिने, अग्नि प्रतिरोधात्मक एलमिनियम कम्पोजिट मेटेरियलबाट दुई ओटा छानो निर्माण गरिने छ । सुरक्षाको लागि अग्नि नियन्त्रणको लागि चार ओटा ७० केजी र १० ओटा १० केजी क्षमताको ड्राई केमिकल पाउडरसहितको अग्नि नियन्त्रण यन्त्र राखिने छ । पम्पमा अपांगमैत्री शौचालय निर्माण गरिने छ ।

‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माणको काम आगामी जेठ अन्तिमभित्र सम्पन्न हुनेछ । पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कशप, कफीसप र अत्याधुनिक शौचालयसमेत निर्माण गरिने डिपोले जानकारी दिएको छ । 

पम्प सञ्चालन व्यवस्थापन निगमका आफ्नै कर्मचारीसमेत संलग्न हुने छन् । नेपालगञ्ज डिपोमा ३२ लाख लिटर पेट्रोल र ७५ लाख लिटर डिजेलको भण्डारण क्षमता छ । निगमले रुपन्दे्रहीको भैरहवामा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गरी गत वर्षदेखि नै सञ्चालनमा आएको छ । 

यो सँगै निगमको आफ्नै लगानीमा दुई ओटा पम्प हुनेछ । निगमले अन्य ठाउँमा समेत आफ्नै पम्प सञ्चालन गर्ने तयारी गरेको छ । निगम आफैँले पम्प सञ्चालन गर्दा जुनुसुकै बेला पनि इन्धनको वितरणमा हुने हुँदा उपभोक्तालाई सहज हुन्छ । हाल निजीस्तरबाट मुलुकभर एक हजार ५०० संख्यामा पेट्रोल पम्प सञ्चालनमा छन् । रासस