ओली सरकार टिकाउन र हटाउन जसपा निर्णायक हुने

जो संग मिले पनि जसपाले माग गरेको संविधान संशोधन हुन सहज छैन

फाईल तस्विर !!

काठमाडौं,फागुन,२५-सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपालाई मान्यता नदिएपछि नयाँ सरकार गठनमा जनता समाजवादी पार्टी नेपाल निर्णायक हुने भएको छ।

माओवादी र एमाले पार्टी विभाजन भएपछि संसदमा दलहरुको स्थितिमा फेरबदल आएको छ। यसका कारण अब सरकारको समीकरण पनि परिवर्तन हुने भएको हो।माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा उनले संसदमा विश्वासको मत लिनुपर्नेछ।

संसदमा ३२ सिट (दुई निलम्बितबाहेक) रहेको जसपाको समर्थनले केपी ओली नेतृत्वको सरकारलाई टिकाइराख्न सहज हुने देखिन्छ।ओलीबाहेक अरु कसैको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दिशामा राजनीतिक विकासक्रम भएको अवस्थामा पनि जसपानै निर्णायक शक्ति बन्ने देखिन्छ।

माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। जसपाले समर्थन गरे ओलीले सहजै बहुमत पुर्‍याउन सक्छन्।संसदमा एमालेको १ सय २० सिट छ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा मृत्यु र निलम्बनका कारण अहिले पाँच सदस्यको पद रिक्त छ।अहिले संसदमा कायम रहेको संख्याका आधारमा हेर्दा प्रधानमन्त्री ओलीले पदमा रहिरहनका लागि वा अरु कोहि प्रधानमन्त्री बन्नका लागि २ सय ७० को बहुमत (१ सय ३६) सांसदको समर्थन आवश्यक पर्छ।

त्यसैले ओलीलाई जसपाकै समर्थन पर्याप्त हुनेछ।त्यसैकारण ओली पनि चौथो ठूलो दल जसपाको समर्थन लिने प्रयासमा छन्।सरकारमा सहभागिताका लागि जसपाले निलम्बित सांसद रेशम चौधरीको रिहाइ, आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा खारेजी र संविधान संशोधन गर्ने लिखित सहमति गर्नुपर्ने सर्त अघि सारेको छ।

प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएर सरकारमा आउन आग्रह गरिसकेका छन्।जसपाका एक नेताका अनुसार प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट नेताहरु ठाकुरसँग छलफलमै छन्।

सरकारमा सहभागिता निश्चित भए रेशम चौधरीको रिहाई फास्ट ट्रयाकमा गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता नै जनाएका छन्।जसपाले संविधान संशोधन लगायतका अन्य एजेण्डामा पनि सहमति हुनुपर्ने माग अघि सारेको छ।उता एमाले र माओवादी केन्द्र अलग अलग पार्टी भएपछि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने संभावना बढेको छ।

त्यसैले नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो।माओवादी केन्द्र, नेपाली कांग्रेस मात्र मिलेर सरकार बनाउन सक्तैनन्। अहिले कांग्रेससँग दुईजना निलम्बितसहित ६३ जना र माओवादीसँग ५३ सांसद छन्। त्यसमध्ये अग्नि सापकोटा सभामुख छन्। उनले निर्णायक भोट दिनुपरेमा मात्र मतदान गर्नसक्छन्।

यस्तो अवस्थामा कांग्रेस-माओवादी गठबन्धनका लागि पनि जसपा नै निर्णायक हुनेछ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ सरकार गठनको विषयमा नेताहरुसँगको छलफल तीव्र पारेका छन्।

उहाँले मंगलबार जसपाका नेताहरुसँग छलफल गर्नु भएको थियो।कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ।नयाँ राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नको लागि जसपाको संसदीय दलको बैठक मंगलबार दिउँसो सिंहदरबारमा बसेको छ।प्रतिनिधि सभा विघटन गर्ने ओली कदमविरुद्ध जसपाले सुरुदेखि देशव्यापी आन्दोलन गरेको थियो।

यसैगरी लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरी शंकर चौधरी केपी ओलीतिर खुल्ने बढी संभावना रहेको छ। यदि उनीहरु ओलीतिर खुले सांसद पद के हुन्छ भन्ने निश्चित भइसकेको छैन।

जसपाका एक नेताका अनुसार संसदमा जसपा अबको निर्णायक शक्ति बनेको हुँदा पार्टीमा सोहिअनुसार छलफल सुरु भएको छ।‘जसपाले चाह्यो भने ओली सरकार ढाल्न पनि सक्छ र जोगाउन पनि सक्छ,’ ती नेताले भन्नुभयो”संसद बैठक बुधबार (भोलि) बस्दैछ। सो बैठकदेखि नै सरकारप्रति माओवादी केन्द्रले कस्तो रणनीति अपनाउँछ त्यसलाई आफ्नो पार्टीले हेर्ने ती नेताले बताउनुभयो।

संसदमा दोस्रो ठूलो दलको रुपमा रहेको नेपाली कांग्रेसले पनि आँफै सरकारको नेतृत्व गरेर जान चाहेको छ। माओवादी केन्द्रसँग मात्र मिल्दा कांग्रेसलाई आवश्यक बहुमत पुग्दैन।तीन पार्टी मिलेर सरकारका लागि चाहिने बहुमत संख्या पुगे पनि जसपाले उठाउँदै आएको संविधान संशोधनको लागि भने दुईतिहाइ आवश्यक पर्छ जुन अब बन्ने समीकरणका सरकारले जुटाउन कठीन छ।

तीन दल मिल्दा १ सय ४२ मात्र हुन्छ, दुईतिहाइ पुग्नको लागि १ सय ८८ सांसद आवश्यक पर्छ।यदि जसपाले एमालेसँग मिलेर सरकार बनायो भने पनि उसले माग गरेको संविधान संशोधन हुन सहज छैन।