“ए”डिभिजन लिग:सातदोबाटो,हिमालयन शेर्पा र मनाङ मर्स्यादी क्लव विजयी

काठमाडौं,फाल्गुन,२४-शहीद स्मारक ए डिभिजन लिगमा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ। एपीएफ क्लबलाई  १-० गोलले पराजित गरेको हो।

लिगमा सातदोबाटोको यो लगातार दोस्रो जित हो भने एपीएफको पहिलो हार हो।सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो।एपीएफले पहिलो खेलमा थ्रीस्टारलाई हराएर शानदार सुरुवात गरे पनि दोस्रो खेलमा पराजित भयो ।

च्यासल मैदानमा भएको खेलमा सातदोबाटोका विलियमले ५५औं मिनेटमा शानदार गोल गरे।मैदानको मध्यभागमा प्राप्त बलमा विलियमले सिधै विपक्षीको गोलपोष्टमा प्रहार गरेका थिए।उनको लङ रेन्ज सटले पोष्ट भित्र पुग्दा एपीएफका गोलकिपर युया कुरियामाले बचाउन सकेनन्।लगातार दोस्रो जितपछि सातदोबाट दुई खेलबाट ६ अंक जोडेको छ ।

यसैविच : हिमालयन शेर्पा क्लबले बुधबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ।अमृत श्रेष्ठले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन शेर्पाले पुलिसलाई हराएर लिगमा पहिलो जित निकालेको हो।

यसअघि पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी संग बराबरी खेलेको थियो।पुलिसले भने लगातार दोस्रो हार बेहोरेको छ।पुलिस पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको थियो ।

त्यसैगरी :मनाङ मर्स्यादी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ।लिगमा पहिलो खेल जित्ने क्रममा मनाङले बुधबार दशरथ रंगशालामा संकटा क्लबलाई १-० ले पराजित गरेको छ।

प्रतिस्पर्धात्मक खेलमा दाभ्लातजोनोभको गोल नै मनाङलाई ३ अंक दिलाउन निर्णायक बन्यो।उनले खेलको ५१ औं मिनेटमा गोल गरे ।

संकटाले त्यसपछि पनि खेलमा बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन।पहिलो खेलमा अग्रता लिएर पनि हिमालयन शेर्पासँग बराबरि खेल्दै अंक बाँडेको मनाङले यो जितपछि दुई खेलबाट ४ अंक जोडेको छ ।